सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो । आइतबार सभा गरिएको स्थानभन्दा करिब पाँच मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनुपर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्णकदको सालिकसहित पूर्वाधार विकास गरेको छ । यही स्थानमा स्मृति सभा गरिएको हो । सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलले, जनमानसमा सहिदको योगदान पु¥याउन काम गरिएको बताइन् । माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नु भएको भूमिका र सामाजिक रुपान्तरणमा पु¥याउनु भएको योगदानको चर्चा गर्दै डंगोलले भनिन् ‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुस शासनविरुद्ध संघर्ष गर्ने उहाँको आँट युवाहरुले सिक्नुपर्ने पाठ हो । स्मरण गर्नुपर्ने इतिहास हो । शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रुपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलिदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’ सभामा वडा नं. ७ का अध्यक्ष बिमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदहरुको सपना पूरा हुने बताए । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा भने, ‘विद्यालयस्तरमा सहिदका आदर्श बुझाउन सके नेपालमा मानव अधिकार र नागरिक स्वतन्त्रता कसरी प्राप्त भयो, जान्न पाउँथे । यसले नागरिकहरुमा अहिले देखिएको नकारात्मक दृष्टिकोण कम गराउन मद्दत हुने थियो ।’ माथेमालाई झुण्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो। माथेमा काजी परिवारका थिए । उनलाई नपुग्दो केही थिएन । उनी दरवारभित्रैको पहुँचवाला थिए । उनले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्व दिए । शारीरिक सुगठन प्रतियोगितमा बंगाल च्याम्पियन हुनु भएका माथेमा राज त्रिभुवनका व्यायाम शिक्षक थिए । राजासँगको यो सम्बन्धका कारण वि. सं. १९९४ मा उहाँले राजालाई समेत प्रजा परिषदको सदस्य बनाएका थिए । वि. सं. १९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोरगणेश ओमबहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिवद्धताका साथ प्रजा परिषद गठन गरेका थिए । वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर उनलाई प्राणदण्ड दिइएको थियो । उनी बलियो भएकोले झुण्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो । तीन पटकसम्म प्रयास गरेपछि मात्र उनलाई सहादत प्राप्त भएको थियो । त्यस बेला उनी ३१ बर्षको मात्र थिए । वि. सं. १९६६ साल आश्विन ९ गते काठमाडौंको ओमबहाल, नवहिलमा जन्मिएका माथेमालाई तत्कालीन शाशकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ गरिएको थियो । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो । माथेमाकी बहिनी मेनका देवीको विवाह शुक्रराज शास्त्रीसँग भएको थियो । प्रजा परिषदका गतिविधि सञ्चालन गर्ने क्रममा शास्त्रीसँग माथेमाको भेट भएको थियो । धर्मभक्तले प्रतिवन्धित समयमा राणाहरुको स्वीकृति नलिइ घरको छिँडीमा विद्यालय खोलेका थिए । फुपूको घरमा युवाहरुलाई व्यायाम सिकाउने ठाउँ बनाएका थिए । यो तुच्छ नश्वर सरीरको आहुति मातृभूमिको बलिवेदीमा चढाउन पाएकोमा मेरो जन्म सार्थक भएको ठान्छु । प्राणदण्ड पाउनु अहोभाग्य’ माथेमाले भनेका थिए । त्यस्तै उनले भनेका थिए–‘देश र जनताको भलाईको निमित्त आफ्नो ज्यान अर्पण गर्दैछु । प्रजातन्त्र ल्याउने कार्यको निम्ति तपाईँहरु सदैव कटिवद्ध हुनुहुनेछ ।’