आफ्ना मन्त्रीविरुद्धको उजुरीमाथि छलफल गर्न बोलाइएको बैठक कांग्रेस सांसदद्धारा बहिष्कार 

बुधबार, माघ १६, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्नका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कांग्रेसका सांसदहरूले 'बहिष्कार' गरेका छन् । समितिमा ८ जना सदस्य रहेको कांग्रेसका सांसद अनुपस्थित भएपछि स्थगित गरिएको छ । बुधबार साढे ११ बजे बोलाइएको बैठकमा कांग्रेसका दुईजना सांसदले सुरुमै हाजिर लगाएर बाहिरिएका थिए । एकजना सांसदले पूर्वजानकारी गराएर नआउने कुरा सभापतिलाई भनेका थिए भने बाँकी सांसद भने आउने भनेर अनुपस्थित रहेको पाइएको छ । समितिका सभापति दीपकबहादुर सिंहले कांग्रेसका एकजना सांसदले मात्रै बैठकमा आउन नसक्ने जानकारी गरेको जानकारी दिए । अन्य सांसदहरूले बैठकमा उपस्थित हुने भनेपछि नै उक्त बैठक बोलाइएको थियो । 'आज १४ जनाले पुग्नुपर्ने कोरम, बैठकमा १२ जना माननीय मात्रै उपस्थित भए । २ जना नपुगेकाले एक घण्टा कुरेर बैठक स्थगित गर्नुपर्‍यो,' कोरम नपुग्दा बैठक स्थगित भएपछि सभापति सिंहले भने, 'जिल्लामा जानुपर्ने भएको भनेर दुईदिन पहिला कांग्रेसका शंकर भण्डारीले मात्र बैठक सारिदिनुपर्‍यो भन्नुभयो । बैठक तोकिसकेकाले सार्न सकिएन ।'
पूर्वाधार विकास समितिमा सबैभन्दा बढी सांसद कांग्रेसका छन् । कांग्रेसका ८ जना सांसद सदस्य रहेकोमा दुईजना मात्रै उपस्थित भएका थिए । कांग्रेसका राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित भएकामा उनीहरू पनि बैठकमा ऊर्जामन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ तथा सरकारी अधिकारीहरू प्रवेश गरेलगत्तै बाहिरिएका थिए ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार