सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले आफ्नो १७ औँ नगर अधिवेशन (हिउँदे अधिवेशन) शुक्रबार सम्पन्न गरेको छ । वडा नम्बर ९ को लामाटारस्थित इन्द्रेणी होलिडेज रिसोर्टमा नगर प्रमुख हरिगोविन्द श्रेष्ठले हिउँदे अधिवेशनको शुभारम्भ गर्दै नगरको समृद्धि, सेवा प्रवाहको प्रभावकारिता तथा नीतिगत सुधारका विषयमा महत्वपूर्ण धारणा व्यक्त गरे । नगर प्रमुख श्रेष्ठले अधिवेशनले नीतिगत अवरोध हटाउने, सेवा प्रवाहलाई सहज बनाउने, कर प्रणालीलाई थप स्पष्ट पार्ने र अपुग जनशक्ति व्यवस्थापनलाई सम्बोधन गर्ने लक्ष्य लिएको बताए ।
साथै, हालैको बाढी–पहिरोबाट ज्यान गुमाउने सात नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उद्धार तथा राहत कार्यमा संलग्न सम्पूर्ण निकायहरूलाई धन्यवाद व्यक्त गरे । नगरको समग्र विकासका लागि संकल्प व्यक्त गर्दै नगर प्रमुख श्रेष्ठले प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्तिको विषय निष्कर्षमा पुग्न लागेको जानकारी गराएका थिए । जग्गा प्राप्ति नभएकै कारण नगरपालिका हालसम्म पनि भाडाकै घरबाट सेवा दिइरहेको छ । स्वास्थ्य प्रवर्द्धनका लागि लुभुमा २५ शैयाको मातृ–शिशु अस्पताल निर्माण गर्न KFW सँग सम्झौता भइसकेको उल्लेख गर्दै यसले नगरलाई थप सशक्त बनाउने बताए । ‘मेयर–जनता स्वास्थ्य कार्यक्रम’ प्रति नागरिकको सकारात्मक प्रतिक्रिया रहेको उल्लेख गर्दै उनले नयाँ वडा कार्यालयमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
FRA तथा LISA को सूचकांकमा देखिएको सुधार नगरपालिकाको सुशासन प्रतिबिम्बित गर्ने प्रमाण भएको उनको भनाइ थियो । अधिवेशनमा विभिन्न विषयगत समितिहरूका प्रतिवेदनहरू प्रस्तुत गरिएको थियो। वन, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी प्रतिवेदन वडाध्यक्ष विजय लामाले प्रस्तुत गरे भने आर्थिक विकास प्रतिवेदन वडाध्यक्ष छिरिङ लामाले पेश गरे । पूर्वाधार विकास प्रतिवेदन वडाध्यक्ष अमृत खत्रीले, सामाजिक विकास प्रतिवेदन वडाध्यक्ष बाबुराजा महर्जनले र संस्थागत विकास प्रतिवेदन वडाध्यक्ष विश्वराज श्रेष्ठले प्रस्तुत गरेका थिए । त्यस्तै, न्यायिक समितिको प्रतिवेदन वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसीले पेस गरेका थिए । उपभोक्ता समितिबाट योजना सञ्चालन गर्ने सम्बन्धी नीतिगत व्यवस्था कुवेर केसीले, राजस्व दररेट संशोधन सम्बन्धी प्रस्ताव धर्म महर्जनले र कर्मचारी दरबन्दी सम्बन्धी प्रस्ताव वडाध्यक्ष ध्रुव केसीले प्रस्तुत गरेका थिए । याेजना तथा कार्यक्रम संशाेधन सम्बन्धी प्रस्ताव नगर उपप्रमुख अस्वस्थ रहेकाे कारण कार्यपालिका सदस्य कुमार बयलकाेटीले र धन्यवाद प्रस्ताव वडा अध्यक्ष जयकृष्ण बाेगटीले पेश गरेका थिए । नगर सभाले योजना तथा कार्यक्रम संशोधन सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गर्दै अर्धवार्षिक समीक्षाको आधारमा नगर विकासलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको छ । नगर प्रमुख श्रेष्ठले नगरपालिकाले कानूनी शासनसहित सुशासित नगर निर्माणका लागि आफ्नो प्रतिबद्धता दोहोर्याउँदै नगरवासीको अपेक्षाअनुरूप योजनाहरू अघि बढाइने बताए । ललितपुर महानगरपालिकासँगको सहकार्यलाई प्रशंसनीय ठहर गर्दै उनले चालु आर्थिक वर्ष २०८१–८२ को बजेट तथा आवश्यक संशोधनहरू नगरको समृद्धि र नागरिक सुखका लागि प्रभावकारी हुने विश्वास व्यक्त गरे । नगर सभाको सफल समापनसँगै महालक्ष्मी नगरपालिकाले आफ्नो विकास योजनाहरूलाई थप गति दिने अपेक्षा गरिएको छ। नगरसभामा १० वटै वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यसहितका जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
यस्ता छन् नगरसभामा पेश भएका अर्ध वार्षिक प्रगति प्रतिवेनहरू तथा नगरसभामा पेश भएका प्रस्तावहरू नगरसभामा प्रस्तुत भएका प्रतिवेदनका अनुसार आ.व २०८१–०८२ मा कुल विनियोजित बजेट २ अर्व ११ करोड ५० लाख ६ हजार मध्ये चालुतर्फ ७७ करोड २८ लाख ६८ हजार ५ सय ९६ रूपैँया मध्ये पुष महिनासम्मको खर्च २५ प्रतिशत रहेको र पँजीगततर्फ १ अर्व ३३ करोड ७१ हजार ३७ हजार ४ सय ४ रूपैयाँ बजेटमा जम्मा खर्चा ८ प्रतिशतमात्र भएको उल्लेख छ। दुवै तर्फको बजेट अनुपात खर्च जम्मा १५ प्रतिशत मात्र भएको नगर प्रमुख हरिगोविन्द श्रेष्ठले नगरसभामा जानकारी दिनुभयो। उनले थपे नगरको संस्थागत विकास,सुशासन र सेवा प्रवाहलाइ चुस्तदुरूस्त बनाउन सबै जनप्रतिनिधि र कर्मचारी दत्तचित्त भएर लागेको छौँ।
विभिन्न शाखामा भएका प्रगति विवरणका केहि महत्वपूर्ण वुँदाहरूः १. पूर्वाधार विकास तर्फ ठेक्काबाट संचालित ३५ योजना मध्ये १७ वटा सम्पन्न भएका छन् भने अन्य १८ योजना ठेक्का प्रक्रियामा गएका छन्। १ सय १९ योजनाहरू उपभोक्ता समिति मार्फत सञ्चालनमा छन् जसमध्ये १३ वटा सम्पन्न र अन्य कार्यान्वयनको चरणमा रहेका । २.वातावरण तथा विपद् व्यवस्थापन शिर्षकमा १ करोड बजेट व्यवस्थापन गरेर बाटी प्रभावित क्षेत्रमा काम भइरहेको । ३. शिक्षा युवा तथा खेलकुदमा शाखामा व्यवस्था भएको बजेटको खर्च लगभग ४० प्रतिशत,स्वास्थ्य शाखामा पनि ४० प्रतिशत,सामाजिक शाखामा १ प्रतिशत मात्र भएको । ४. यस्तै पशु शाखामा १५ प्रतिशत,सहकारी शाखामा वित्तिय तर्फ १७ र भौतिक प्रगति २२ प्रतिशत रहेको उल्लेख छ। यस्तै कृषी तर्फ ५० प्रतिशत प्रगति भएको छ।