कोञ्ज्योसोमको बजेट ३३ करोड ३० लाख

विदेशबाट फर्केका युवा लक्षित कृषि तथा पशुपक्षी कार्यक्रमलाई उच्च प्राथमिकता
शुक्रबार, असार ११, २०७८

ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ लाई कृषि तथा पशुपक्षी वर्षका रुपमा मनाउने योजना अघि सारेको छ ।  ‘कृषि, पर्यटन, संस्कृति, वातावरण र पूर्वाधारः सुशासनयुक्त,, सभ्य र समृद्ध कोञ्ज्योसोमको आधार’ भन्ने नारालाई आत्मसात् गर्दै बिहीबार अध्यक्ष गोपीलाल सिङ्तानले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरे । कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएका युवाहरुलाई लक्षित गरी कृषि र पशुपालनको क्षेत्रबाट स्वरोजगार बनाउने योजना अघि सारेको उनले बताए ।   गाउँपालिकाका विकासको प्रमुख आधार नै कृषि तथा पशुपक्षी उत्पादनमा जोड रहेकाले यसलाई आधुनिकीकरण तथा व्यवसायी र बजारीकरण गर्न कृषि कर्ममा ३५ लाख र पशु विकासमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।  यसैगरी गाउँपालिकाले कोरोनाका कारण मृत्युवरण गरेकाका परिवारलाई कोष खडा गरी प्रतिपरिवार १० हजार रुपैयाँसमेत सहयोग गर्ने नीति अघि सरेको छ ।  ठोस्नेखोला बेली ब्रिज र छ्योर्देन गुम्बा निर्माण, मबिर गुर्दुमथुम दलचोकी लिफ्टिङ खानेपानी र भेडेखर्क डोल फूलबारीडाँडा खानेपानी आयोजनामा समेत जोड दिने भएको छ । शङ्खुमा तरकारी सङ्कलन केन्द्र र दलचोकी भोटडाँडा क्वाकलिङ र कतुवन भञ्ज्याङबाट शङ्खु जाने सडक निर्माण गर्नाका साथै लामदुवाली झोपु तिप्चेखोला दोभान र श्री कृष्णप्रणामी मन्दिर जस्ता योजनाहरुका लागि गाउँपालिकाले पर्याप्त बजेट विनियोजन गरेको छ  ।  गाउँपालिकाका खाली जमीनहरुमा वृक्षरोपण गरिनाका साथै गाउँपालिकाका सामुदायिक वनलाई व्यवस्थित गर्न जडीबुटीलगायत आयआर्जनका विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपाध्यक्ष मिङ्मा लामाले ३३ करोड ३० लाख ७७ हजारको बजेट प्रस्तुत गरिन् ।–रासस 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार