सोसल मिडिया
Contact Us
युनिकोड
धनगढी । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुुनले २०८४ को निर्वाचनअघि वामपन्थी ध्रुवीकरणको सम्भावना नरहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका उपमहासचिव पुनले वामपन्थी एकता अन्तर्गत नेकपा एमालेसँग पार्टी एकीकरण र गठबन्धन गरिसकेको स्मरण गराउँदै अब सम्भावना नरहेको बताएका हुन् । प्रेस सेन्टर कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुनले दुई ठूला दल मिलेर गठबन्धन सरकार चलाइरहेका कारण माओवादी प्रतिपक्षमै बस्ने बताए । ‘हामीले वामपन्थी मिल्नुुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ । त्यो बिग्रिसकेपछि पनि कोर्स करेक्सन गर्न खोज्यौँ तर एमाले त्यो होइन रहेछ,’ पुनले भने, ‘२०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ । वामपन्थी ध्रुवीकरण सम्भव छैन । ओलीजीले दुईपटक धोका दिइसक्नुुभएको छ । उहाँबाट तेस्रोपटक धोका खाने पक्षमा छैनौँ ।’ नेकपा विभाजनपछि नयाँ समीकरण बनिसकेको अवस्थामा स्वयं ओलीले नै अध्यक्ष प्रचण्डलाई ६ महिनासम्म लगातार भेटेर तत्कालीन सयममा सरकारको नेतृत्व हस्तान्तरण नगर्नु गल्ती थियो भनेर स्वीकार गरेको बताए । ओलीकै आग्रहअनुुसार कोर्स करेक्सन गरेर पुनः सरकार निर्माण गर्न गठबन्धन गरिएको उनको भनाइ थियो । तर, ओलीले प्रचण्डबाट आफूले ठूलो धोका पाएको भन्दै वामपन्थी गठबन्धनका नाममा प्रतिशोध साँधेको उनको दाबी छ । ‘नेकपा बन्यो टिकेन । ओली कमरेडले अध्यक्ष प्रचण्डलाई तपाईंलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने थियो त्यो नगर्दा गल्ती भयो । नयाँ समीकरण बनेको पनि नेकपाको बहुुमत नटिकेरै हो । त्यसैले कोर्स करेक्सन गरौँ भनेर हाम्रो तहमा पनि भनिरहनुभयो,’ पुुनले भने, ‘त्यसपछि नै वामपन्थी विचार हुनेहरू मिलौँ भनेर सरकार परिवर्तन गरेका हौँ । म सहितका साथीहरू लागेकै हो । तर ओली कमरेडमा त्यो खालको रहनेछ ।’ अहिले कांग्रेसकै नेताहरूले त्यो बेला ‘ओलीले प्रचण्डले सताएका छन् दुुई महिनामै फर्किन्छु’ भनेर माओवादीसँग मिलेको बताउने गरेको पुुनको दाबी छ । अहिले माओवादीलाई प्रतिपक्ष बस्न सुुझाव प्राप्त भएको बताउँदै पुुनले २०८४ मा सबै तहका निर्वाचन एक्लै लड्ने दाबी समेत गरेका छन् ।