सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पाथीभरा केबलकार आन्दोलन स्थगन भएको छ । मंगलबार राति संघर्ष समिति सरकारबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो । पाथीभरा संघर्ष समितिसँग माघ २७ गते बस्ने अर्को वार्ताले त्यहाँका असहमतिलगायत विषयको टुंगो लगाउने बताइएको छ । गृह मन्त्रालयले गठन गरेको वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईका अनुसार राति काठमाडौंमा भएको वार्तामा आन्दोलन स्थगित गर्नेलगायत सहमति भएको हो । सहमतिको पहिलो बुँदामा पाथीभरा केबलकारको स्टेशनमाथिको निर्माण कार्य तत्काल स्थगन गर्ने र स्टेशनका बारेमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ । सरकारले घोषणा गरेअनुसार घाइतेहरूको निस्शुल्क र प्रभावकारी ढंगले उपचार गर्ने सहमति भएको छ । यस्तै, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ । पाथीभरा केबलकारको विषयमा भएको आन्दोलनमा पक्राउ परेकाहरूलाई रिहा गर्ने सहमति भएको छ । यो सहमतिपछि मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन भएको छ । ‘मुक्कुमलुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायत विषयमा माघ २७ गते बिहान ११ बजे पुनस् वार्तामा वार्तामा बस्ने सहमति भएको छ,’ भट्टराईले भने । ताप्लेजुङमा रहेको पाथीभारा मन्दिरसम्म पुग्ने केबलकार परियोजना निर्माणको विषयलाई लिएर पछिल्लो समय तनाव चुलिँदै गएको छ । लिम्बुहरूको मुक्कुम्लुङ पाथीभारामा एक तीर्थस्थल हो । आफ्नो तीर्थस्थल मासिने भन्दै त्यहाँका लिम्बु समुदायले ‘नो केबलकार’ आन्दोलन थालेका थिए । पाथीभरामा केबलकार परियोजना नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको आइएमई ग्रुपले बनाइरहेको छ । सुरूमा यती समूह, त्यसपछि लक्ष्मी इन्टर्कन्टिनेन्टल हुँदै शिलान्यासको चरणमा आइपुग्दा आईएमई समूह परियोजनामा जोडिएको थियो । गएको नोभेम्बर महिनामा उक्त आयोजना शिलान्यास गरिएको हो । त्यसपछि लिम्बु समुदायले आफ्नो ‘मुन्धुम’ संस्कृतिमाथि अतिक्रमण गर्न खोजेको, स्थानीय प्राकृतिक स्रोतसाधनलाई व्यापारिक स्वार्थपूर्तिका लागि दोहन गर्न खोजेको भन्दै आन्दोलन चर्किएका थिए । योजना सार्वजनिक भएसँगै विभिन्न पहिचानवादी समूहले ‘नो केबलकार’ आन्दोलन चलाउँदै कोशी प्रदेशको पूर्वीभेगका जिल्लाहरूमा अनिश्चितकालीन हड्ताल गरिरहेका थिए ।