कांग्रेस भित्र भावी नेतृत्वका लागि संस्थापन–इतर दुवै पक्षबाट कसरत सुरु

पौडेल समूह सभापतिको एकल उम्मेदवार चयन गर्न छलफलमा
शनिबार, असार १२, २०७८

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा भावी नेतृत्वका लागि कसरत शुरु भएको छ । सोही क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यले आसन्न  महाधिवेशनको तयारी र नेतृत्वको तयारी सम्बन्धमा छलफल गरेका छन् । भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा.शशाङ्क कोइराला तथा नेता प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, सुजाता कोइरालालगायत करीब २५ पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी थिए । पौडेल समूहको भेलमा सहभागी धेरै जनाले आफूलाई सभापतिको उम्मेदवारीमा दाबी गर्दै आएका छन् । यद्यपि सहमतिका आाधारमा एक मात्र उम्मेदवार बनाउन सकिए कतिपय नेताहरूले पछि हट्न सकिने छलफलमा क्रममा बताएका थिए । भेलामा  अधिकांश केन्द्रीय सदस्यले सो समूहबाट सभापतिमा सहमतिका आधारमा एक मात्र उम्मेदवार हुनुपर्नेमा जोड दिएको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए । पार्टीको क्रियाशील सदस्यता छानबिन समितिले गरिरहेको कामका बारेमा भेलामा समीक्षा हुनाका साथै भावी नेतृत्वमा सहमतिको प्रयासलाई जारी राख्नुपर्नेमा जोड दिइएको थियो ।
कांग्रेसको असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमितिले बैठकले  महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको छ । सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यसँग चरणबद्ध रूपमा छलफल थालेका छन् । सभापति देउवा निकट मानिएका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने तयारी थालेका छन् । संशोधित कार्यतालिकानुसार गाउँ÷नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका  अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते तथा प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।
त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० गतेभित्र र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ ।

 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  ०७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार