ललितपुर महानगर प्रमुखको अनुरोध, 'अब रातो मच्छिन्द्र नाथको रथ बनाउने वेत सजिलै नेपाल लान पाइयोस्'

मंगलबार, माघ २९, २०८१
मयुर प्लाई
Global Ime Bank

गुहावटी (आसाम) । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउँदा प्रयोग हुने वेत नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नु परेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन सरोकारवालासँग अनुरोध गरेका छन् । रथ बनाउन प्रयोग गरिने वेत भारतको आसामबाट ललितपुर लगिन्छ । रातो मच्छिन्द्रनाथबारे छलफल गर्न गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि अत्यावश्यक वेतको नेपालमा सहज आपूर्तिको व्यवस्था गर्न  अनुरोध गरेका हुन् । वेतको प्रयोग मात्रैले रातो मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ । रथमा किलाकाँटाको प्रयोग गरिँदैन । उनले भने, ‘रथ बनाउन प्रयोग हुने वेत आसामबाट लानुपर्छ तर सहज छैन, यो प्रक्रियालाई सहज बनाउन अनुरोध गर्छु’ रातो मच्छिन्द्रनाथको इतिहास जतिकै पुरानो र बलियो नेपाल र आसामको  सम्बन्ध भएको बताउँदै नगरप्रमुख महर्जनले काठमाडौं र आसामबीच सिधै हवाइजहाजबाट यात्राको व्यवस्था मिलाउनुपर्ने बताए ।  ‘हवाइजहाजबाट दुबैतिर जान आउन मिल्ने व्यवस्था मिलाउन सके, आउँजाउँ अझै बढ्छ, सम्बन्ध अझै बलियो हुन्छ’, उनले भने ।
महानगर प्रमुख महर्जन, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, जनप्रतिनिधि र विज्ञसहित आइतबार गुहाटी आएका हुन् ।  
नगरप्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको जात्रा रोचक र महत्वपूर्ण भएको बताउँदै विश्वविद्यालयका उपकुलपति, प्राध्यापकहरु, विश्वविद्यालय परिवार लगायत गुहाटी र आसामका जनतालाई जात्रा हेर्न आउन निम्ता दिए । उनले भने, ‘यो जात्रा हेर्न ललितपुर आउनुहोस्, सँगै बसेर हेरौँला ।’ 
नगरप्रमुखले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा पर्यटन संस्कृति समितिका संयोजक तथा वडा नं. ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठ, पर्यटन समितिका अन्य दुई सदस्य वडा नं. ६ का वडाअध्यक्ष रुपेन्द्रराज शाक्य र वडा नं. १९ का वडाअध्यक्ष राजेन्द्र महर्जन समेत छन् । यसका साथै महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ सहभागी छन् । यसैगरी उक्त प्रतिनिधिमण्डलमा रातो मच्छिन्द्रनाथ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवालका गुठीयार नविन महर्जन, घःकुका गुठीयार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार वाराही छन् । 
कार्यक्रममा गुहाटी विश्वविद्यालयका उपकुलपति नानी गोपाल महन्ताले रातो मच्छिन्द्रनाथले ललितपुर र भारतको सम्बन्धलाई बलियो बनाएको बताए । सांस्कृतिक र ऐतिहासिक रुपमा हाम्रोे सम्बन्ध बलियो भएको प्रष्ट पार्दै यो सम्मेलनले सम्बन्ध अझै कसिलो हुने बताए ।  मजुली सांस्कृतिक विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डम्बरुधर नाथले भारत र नेपालबीचको प्रगाढ सम्बन्धको सेतु रातो मच्छिन्द्रनाथ भएको बताए । 

रातो मच्छिन्द्रनाथबारे गुहाटीमा छुट्टाछुट्टै विषयमा ७ वटा कार्यपत्र प्रस्तुत 
कार्यक्रमको दोस्रो सर्तमा नेपालका तर्फबाट रातो मच्छिन्द्रनाथसँग सम्बन्धित  ७ वटा छुट्टाछुट्टै विषयमा  कार्यपत्र प्रस्तुत गरिएको थियो । ललितपुर महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले नेपालमा गुरु मच्छिन्द्रनाथ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । 
ललितपुर महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्योले सम्पदा र विश्वसम्पदा विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्यले पूजा विधि, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जनले जात्रा व्यवस्थापन र रथ निर्माण सम्बन्धि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । गुठी संस्थानका निमित्त प्रशासक शालिकराम सुवेदीले आसामबाट वेत संकलन प्रक्रिया विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
त्रिभुवन विश्व विद्यालय, इतिहास विभागका पूर्वप्रमुख प्राध्यापक राजाराम सुवेदीले नेपालमा सिद्ध मच्छिन्द्रनाथको भूमिका विषयक कार्यपत्र र डा. विदुप्रकाश कायस्थले रातो मच्छिन्द्रनाथ, जलवायु परिर्वतन र त्यसको असर विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार