सोसल मिडिया
Contact Us
युनिकोड
गुहाटी (आसाम) । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले आसामका मुख्यमन्त्री हिमंत बिस्वा शर्मालाई रातो मच्छिन्द्रनाथको रथयात्रा हेर्न आउन निम्तो दिएका छन् । रातो मच्छिन्द्रनाथबारे छलफल गर्न गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा उनले आसामका संस्कृति मन्त्री विमल बोरा मार्फत निम्ता पठाएका हुन् । महानगर प्रमुख महर्जनले संस्कृतिमन्त्रीसहित विश्वविद्यालयका उपकुलपति, प्राध्यापक र आसामबासीलाई रातो मच्छिन्द्रनाथको रथयात्रा हेर्नका लागि निम्ता दिएका हुन् । रथ बनाउँदा प्रयोग हुने वेत नेपाल ल्याउँदा भोग्नुपर्ने कानुनी र प्राविधिक अड्चन फुकाएर सजिलो बनाइदिन समेत नगरप्रमुख महर्जनले आसामका संस्कृतिमन्त्री समक्ष आग्रह गरे । उनले भने, ‘रथलाई बलियो बनाउन गुणस्तरीय वेत सजिलै नेपाल लैजान सक्ने वातावरण हुनुपर्छ ।’ वेतको प्रयोग मात्रैले रातो मच्छिन्द्रनाथको रथ निर्माण गरिन्छ । रथमा किलाकाँटाको प्रयोग गरिदैँन । उनले भने, ‘रथ बनाउन प्रयोग हुने वेत आसामबाट लानुपर्छ तर सहज छैन, यो प्रक्रियालाई सहज बनाउन अनुरोध गर्छु ।’ रातो मच्छिन्द्रनाथको इतिहास जतिकै पुरानो र बलियो नेपाल र आसामको सम्बन्ध भएको बताउँदै नगरप्रमुख महर्जनले काठमाडौं र आसामबीच सिधैं हवाइजहाजबाट यात्राको व्यवस्था मिलाउनुपर्ने बताए । उनले भने, ‘ म नेपाल फर्किएर पर्यटनमन्त्रीसँग यस विषयमा कुरा गर्छु, यताबाट पनि प्रबन्ध मिलाउनुस् ।’ काठमाडौंबाट सिधै हवाइयात्राको व्यवस्था गर्न सांस्कृतिक, धार्मिकलगायत पर्यटन प्रबद्र्धनका लागि समेत यसले सहयोग पुग्ने उनको भनाई थियो । नगर प्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको जात्रालाई अन्तर्राष्ट्रिय रुपमा थप परिचित बनाउनु लागेको बताउँदै विदेशी नियोगका प्रतिनिधिलाई यस अघिको रथयात्रा हेर्न निम्ता दिएको बताए । रातो मच्छिन्द्रनाथको बारेमा थप अनुसन्धान आवश्यक भएको प्रष्ट पार्दै गुहाटी र ललितपुर महानगर मिलेर थप अध्ययन अनुसन्धान गर्नुपर्ने धारणा उनको थियो । महानगर प्रमुख महर्जन प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, जनप्रतिनिधि र विज्ञसहित आइतबार गुहाटी आएका हुन् । नगरप्रमुखले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा उद्योग, पर्यटन संस्कृति समितिका संयोजक तथा वडा नं. ५ का वडाअध्यक्ष विकासमान श्रेष्ठ, पर्यटन समितिका अन्य दुई सदस्य वडा नं. ६ का वडाअध्यक्ष रुपेन्द्रराज शाक्य, र वडा नं. १९ का वडाअध्यक्ष राजेन्द्र महर्जन समेत छन् । यसका साथै उक्त प्रतिनिधिमण्डलमा अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ र उद्योग, पर्यटन समितिका सदस्य सचिव ज्ञानेन्द्र श्रेष्ठ सहभागी छन् । यसैगरी उक्त प्रतिनिधिमण्डलमा रातो मच्छिन्द्रनाथ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवालका गुठीयार नविन महर्जन, घःकुका गुठीयार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार वाराही छन् । आसामका संस्कृतिमन्त्री विमल बोराले रातो मच्छिन्द्रनाथले नेपाल र आसामबीच आत्मीय सम्बन्ध स्थापित गरेको बताए । संस्कृति र इतिहास संरक्षणको लागि यो अन्तर्राष्ट्रिय सम्मेलन कोशेढुंगा भएको धारणा उनले राखे । कार्यक्रममा गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा विश्वविद्यालयका उपकुलपति नानी गोपाल महन्ताले रातो मच्छिन्द्रनाथ भौतिक, सांस्कृतिक सम्बन्ध कायम गरेको बताउँदै भने, ‘दुई देशका नागरिकहरुबीच प्रगाढ सम्बन्ध बनाएका छ, त्यो महत्वपूर्ण छ ।’ दुई दिनमा नेपाल र आसामबाट १५ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।