कीर्तिपुर अस्पतालको आईसीयूमा अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार

शनिबार, फागुन ३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुरको बर्न अस्पतालमा भर्ना गरिएको छ ।
शनिबार पोखराबाट जलन घाईते भई कीर्तिपुर अस्पतालमा दिउँसोको ३ः३० बजे पौडेल तथा आचार्य सघन उपचार कक्षमा भर्ना भएका हुन् ।  उनीहरुको प्रारम्भिक मूल्याङ्गन अनुसार ५ देखि ६ प्रतिशत जलेको साथै अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता भएको अस्पताले विज्ञप्तिमार्फत जनाएको  छ । उपचारमा प्रा.डा. प्रविण गिरीलगायतका सघन उपचार कक्षको टोली, प्राडा शंकरमान राई, डा. विशाल कार्की, डा.मनिष यादवलगायतको जलन विशेषज्ञहरुको टोली, डा.प्रयुस अर्याललगायतका आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली संलग्न छ । आगोको लप्काले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख आचार्यको कीर्तिपुर अस्पतालमा उपचार सुरु भएको छ ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सघन कक्ष (आईसीयू) मा भर्ना गरेर उपचार गरिरहेको अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 'आज २०८१ फागुन ३ गते शनिबार पोखराबाट जलन घाइते भई यस कीर्तिपुर अस्पतालमा दिउँसोको ३ ः ३० बजे उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य उपचारार्थ सघन उपचार कक्षमा भर्ना हुनुभएको छ,' विज्ञप्तिमा लेखिएको छ, 'उहाँहरूको प्रारम्भिक मूल्यांकनअनुसार ५(६५ जलेको तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ ।'
डा. विशाल कार्कीले दुवैको अवस्था सामान्य रहेको भन्दै पोलेको घाउ गहिरोमा परिणत हुने खतरा रहेकाले आईसीयूमा राखेर उपचार थालिएको जनाए । 'उहाँहरुको अवस्था सामान्य नै छ । पोलेको घाउ गहिरो देखिएको छैन । तर, गहिरोमा परिणत हुने खतरा हुन्छ । पड्किँदा उहाँहरूले धूवाँ निल्नु भयो । त्यसले भित्र असर परेको छ कि भन्ने अब्जर्ब गर्नका लागि पहिलो ४८ घण्टा आईसीयूमा राख्ने प्लान गरेका छौं । घाउ गहिरो हुनेरनहुने ३र४ दिनमा थाहा हुन्छ । त्यो बेलासम्म ड्रेसिङ गर्ने, औषधि दिने गर्छौं,' उनले भने ।
पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा शनिबार रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको लप्काले बेलुन पड्किएको थियो । आगोका झिल्का उनीहरुको शरीरमा लागेको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुर अस्पतालमा ल्याइएको हो ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार