असामाका नेवारलाई आफ्नो कला संस्कृतिकबारे सिक्ने र बुझ्ने तीव्र इच्छा 

भन्छन्, ‘हामी नेवार भएर पनि नेवार जस्तो भएनौँ’
शनिबार, फागुन ३, २०८१
मयुर प्लाई
Global Ime Bank

आसाम (गुहाटी) । अखिल भारतीय नेवार संगठन आसाम राज्य समितिले ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन नेतृत्वको प्रतिनिधिमण्डललाई सम्मान गरेको छ । रातो मच्छिन्द्रनाथबारे छलफल गर्न गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन प्रतिनिधिमण्डलसहित आसाम आएका नगरप्रमुखलाई उक्त समितिले सम्मान गरेको हो । नगर प्रमुख महर्जनको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, जनप्रतिनिधि र विज्ञसहितको टोली गत आइतबार गुहाटी आएको हो ।   कार्यक्रममा नगरप्रमुख महर्जनले स्थानीय जात्रालाई महानगरले महत्व दिएको बताए । आसाम र ललितपुरबीचको सम्बन्ध नेपाल र भारतबीचको सम्बन्ध जतिकै नजिक र प्रगाढ भएको उनले बताए । ललितपुर महानगर आसामसँग भगिनी सम्बन्ध कायम गर्न इच्छुक भएको बताउँदै उनले भने, ‘रातो मच्छिन्द्रनाथलाई आसामबाट ललितपुर लगिएको भन्ने किंम्बदन्ती छ, त्यसैले हामी बीचको सम्बन्ध निकै पुरानो र नजिकको छ, यो सम्बन्धलाई थप उचाईं दिन भगिनी सम्बन्ध गाँस्नुपर्छ ।  त्यो सम्बन्धले हामीबीचको सम्बन्ध अझै बलियो हुन्छ, यो सम्बन्ध गाँस्नका लागि यताका साथीहरुले चाँजोपाँचो मिलाउनुस् ।’ आसाममा नेवारी संस्कृति भित्राउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।   ललितपुर महानगरपालिका वडा नं.५ का वडाअध्यक्ष विकासमान श्रेष्ठले सभ्यता र संस्कृतिको धनी ठाउँ आसाम रहेका नेवारहरुले आफ्नो कला, संस्कृति र आफ्नोपनप्रति देखिएको चासोको प्रशंसा गरे । उपत्यकाका नेवारहरुको संस्कार र संस्कृतिलाई आसाममा ल्याउन सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 
ज्यापु समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जनले नेवारी कला, संस्कृतिको बारेमा बुझाउन ज्यापू समाजले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘धिमे बजाउन सिकाउँछौं, बाँसरी बजाउन सिकाउन सक्छौं, छलफल गरौँ, कहिले हामी यता आउँला, कहिले तपाईंहरु उता आउनुस् ।’ अखिल भारतीय नेवार संगठन, आसाम राज्य समितिका सभापति एलबी प्रधानले ललितपुर महानगरका नगरप्रमुखले नेतृत्व गरेको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुशी लागेको बताए । नेपाल भाषा, नेवारहरुको संस्कार र संस्कृतिबारे आसाममा रहेका नेवारहरु थप बुझ्न इच्छुक रहेको उनले बताए । उनले भने, ‘हामी भाषा सिक्न चाहन्छौं,  संस्कार, संस्कृति सिक्न चाहन्छौं, हामीलाई सहयोग गर्नुस् ।’ रातो मच्छिन्द्र र आसामबारे जानकार डा.विदु कायस्थले संस्कार र संस्कृतिले समाजलाई जिवन्त बनाउने बताए । उपत्यका र देशका अन्य ठाउँका नेवारहरुले अवलम्बन गर्र्दै आएको संस्कृति र संस्कारलाई आसाममा बस्नेहरुले पनि अनुसरण गर्दै जानुपर्ने उनले बताए । उनले भने, ‘सामान्य जस्तो लाग्छ, सुकुन्दामा बत्ती बाल्नुस्, धिमे बाजा बजाउनुस, यी र यस्तै काम गर्दै जान सकिन्छ ।’ प्राध्यापक डा. ललित श्रेष्ठले आफ्नो संस्कार र संस्कृति आफूभन्दा पनि प्यारो र सम्मान योग्य भएको बताउँदै आसाममा रहेका नेवारहरुमा नेवारहरुको संस्कार र संस्कृति हस्तान्तरण अत्यावश्यक भएको बताए ।  नगरप्रमुखको प्रतिनिधिमण्डलमा उद्योग, संस्कृति पर्यटन समितिका दुई सदस्य वडा नं.६ का वडाअध्यक्ष रुपेन्द्रराज शाक्य र वडा नं. १९ का वडाअध्यक्ष राजेन्द्र महर्जन, समितिका सदस्यसचिव ज्ञानेन्द्र श्रेष्ठ रहेका छन् । यसका साथै महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ सहभागी छन् । यसैगरी उक्त प्रतिनिधिमण्डलमा रातो मच्छिन्द्रनाथ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवालका गुठीयार नविन महर्जन, घःकुका गुठीयार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार वाराही छन् । 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार