सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएपछि तनाव बढेको । बी–टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गर्दा दमन भएको छ । नेपाली विद्यार्थीहरूका अनुसार लम्सालमाथि भारतीय विद्यार्थी आद्धिक श्रीवास्तवले बारम्बार दुर्व्यवहार गर्ने गरेका थिए । असह्य भएपछि लम्सालले आत्महत्या गरेको उनीहरूको भनाइ छ । यसअघि लम्सालले समेत आफूमाथि दुर्व्यवहार भएको भन्दै श्रीवास्तवविरुद्ध विश्वविद्यालय प्रशासनमा उजुरी दिएकी थिइन् । तर, विश्वविद्यालय प्रशासनले उजुरीको सुनुवाइ नगरेको नेपाली विद्यार्थीको भनाइ छ । दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि अनुसन्धान तथा कारबाहीको माग गर्दै उजुरी दिन गएका विद्यार्थीमाथि केआईआईटी प्रशासनले सुरक्षा गार्ड र बाउन्सर लगाएर दमन गरेको नेपाली विद्यार्थीले बताएका छन् । नेपाली विद्यार्थी आइतबार राति विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा उजुरी दिन गएका थिए । लम्सालको मृत्युको खबर बाहिरिएपछि नेपाली विद्यार्थी प्रदर्शनमा उत्रिएका थिए । विद्यार्थीको प्रदर्शन चर्केपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई तत्काल छात्रावास छाड्न सूचना जारी गरेको थियो । केआईआईटीका रजिस्ट्रारले जारी गरेको सूचनामा नेपाली विद्यार्थीलाई अर्को सूचना नभएसम्मका लागि तत्काल छात्रावास छाड्न भनिएको छ । केआईआईटीमा एक हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयको सूचनापछि सयौं नेपाली विद्यार्थी अलपत्र परे । ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई विश्वविद्यालयले भुवनेश्वर र कटक रेलवे स्टेसनमा ल्याएर छोडिदिएको छ । नेपाली विद्यार्थीलाई निष्कासन गरिएको खबर बाहिरिएपछि फिर्ता बोलाउन विश्वविद्यालय प्रशासनमाथि चौतर्फी दबाब परेको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासले कूटनीतिक च्यानलमार्फत र सिधै विश्वविद्यालयसँग संवाद गरेपछि कलेज प्रशासनले विद्यार्थीलाई छात्रावासमा फर्कन सूचना जारी गरेको छ । नेपाली दूतावासले घटनाका सम्बन्धमा विश्वविद्यालयका प्रतिनिधिसँग कुरा गरेको र नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था अपनाउन आग्रह गरेको जनाएको । ‘घटनाबारे जानकारी पाएसँगै विश्वविद्यालय प्रशासनसँग कुरा गरिरहेका छौं । घटनाको छानबिन र विद्यार्थीको सुरक्षाका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं,’ दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भने । उता भारतीय सञ्चारमाध्यमका अनुसार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरिसकेको र घटनाबारे छानबिन सुरु गरेको छ । उनीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको भुवनेश्वर प्रहरीका डेपुटी कमिस्नर पिनाक मिश्रलाई उद्धृत गर्दै एनडीटीभीले जनाएको छ । विश्वविद्यालय प्रशासनले सोमबार साँझ विज्ञप्ति जारी गरी नेपाली विद्यार्थीलाई छात्रावासमा फर्कन आग्रह गरेको हो । ‘केआईआईटी प्रशासनले शैक्षिक गतिविधि सुचारु गर्न क्याम्पस र छात्रावासको स्थिति सामान्य बनाउन हरसम्भव प्रयास गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पस छाडेका वा छाड्ने योजना बनाएका सबै नेपाली विद्यार्थीलाई छात्रावासमा फर्कन र कक्षाहरू पुनः सुरु गर्न अपिल गरिन्छ ।’ स्थिति अनियन्त्रित हुन नदिन र निष्पक्ष छानबिन सुनिश्चित गर्न नेपाली विद्यार्थीलाई घर फर्कन सुझाव दिएको विश्वविद्यालयको दाबी छ । सम्बन्धित शैक्षिक संस्थाले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई कक्षा सञ्चालन गरिने प्रतिबद्धता दूतावाससमक्ष पनि जनाएको छ । दूतावासले वक्तव्य निकालेर यसबारे जानकारी दिएको छ । नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा घटनाबारे स्वतन्त्र एवं निष्पक्ष ढंगले अनुसन्धान गर्नॅपर्ने विषयलाई सम्बन्धित शैक्षिक संस्थाले गम्भीरतापूर्वक लिएको समेत जनाइएको । दूतावासले दिल्लीमा रहेका केआईआईटीका प्रतिनिधिलाई दूतावासमै बोलाएर छलफलसमेत गरेको छ । भारतको विदेश मन्त्रालय, ओडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित निकायसँग दूतावास लगातार सम्पर्कमा रहेको विज्ञप्तिमा जनाइएको छ । नियोग उपप्रमुख थापाले ओडिसामा घटनाको जानकारी आउनासाथ विद्यार्थी, कलेज प्रशासन र सरकारी निकाय सबैसँग समन्वय गरिएको बताए । दूतावासले नेपाली विद्यार्थी तथा अभिभावकलाई आवश्यक परेको स्थितिमा सम्पर्कमा रहन इमेल तथा हटलाइन नम्बरसमेत सार्वजनिक गरेको छ । 'कलेजले पीडकलाई नै साथ दिँदा नेपाली छात्राको ज्यान गयो' कलेज प्रशासनको गम्भीर लापरबाहीका कारण उच्च शिक्षा अध्ययनका लागि भारतको ओडिसा गएकी एक नेपाली छात्राको ज्यान गएको छ । केआईआईटीमा पढ्ने एक जना विद्यार्थीले आफूलाई मानसिक यातना दिइरहेको भनेर दुई पटक लिखित उजुरी दिँदा समेत आरोपीले उन्मुक्ति पाएका कारण बुटवल स्थायी घर भएकी २० वर्षीया प्रकृति लम्सालको मृत्यु भएको हो । प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानिसक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको बताए ।