सोसल मिडिया
Contact Us
युनिकोड
चालू आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको निधन भएको छ । लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । गृह मन्त्रालयका अनुसार ०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८५६ सडक दुर्घटनामा एक हजार १४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा एक हजार २३३ जनाको ज्यान गएको छ । गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ । गत मंसिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा एक हजार ८७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको निधन भएको विवरण छ । अघिल्लो गत मंसिरमा दुई हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर १९७ जनाको निधन भएको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार गण्डकी, काठमाडौं उपत्यका र कर्णालीमा दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा बढोत्तरी भएको छ । मधेश प्रदेश र बागमती (काठमाडौं उपत्यका)बाहेकमा दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घटेको छ ।