आजबाट टोखामा विष्णुमती खोलाको दायाँबायाँ करिडोर ट्रयाक खोल्ने कार्य सुरु

सोमबार, फागुन १२, २०८१
मयुर प्लाई

टोखा नगरपालिकाको सक्रियतामा टोखा प्रहरी चौकी विष्णुमति पुल देखि बुढानिलकण्ठ क्षेत्रको सिमानासम्म जोडिने विष्णुमती खोलाको दायाँबायाँ करिडोर सडकको ट्रयाक खोल्ने कार्य सुरुवात भएको छ। गत पुषमा शिलान्यास भएको करिडोर सडकको ट्रयाक खोल्ने कार्य आज टोखा प्रहरी चौकी विष्णुमति पुल संगै दायाँतर्फबाट एकै साथ तीनवटा डोजर प्रयोग गरि कार्य गर्दै कार्यगत रुपमा शुरुवात भएको हो। विष्णुमती करिडोर खोल्ने सम्बन्धमा नगर प्रमुख प्रकाश अधिकारीको नेतृत्वमा उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, वडा अध्यक्षसहितका जनप्रतिनिधिहरू, नगर प्रहरी, नेपाल प्रहरी तथा स्थानीयबासीको रोहवरबाट सडकको ट्रयाक खोल्ने कार्यलाइ अघि बढाइएको हो। बुढानिलकण्ठको स्कोन मन्दिर सम्म पुग्ने यो सडक ट्रयाकमा पर्ने शुभ होम्स कम्पाउन्ड क्षेत्रमा आपसी समझदारीमा करिडोरको बाँयातर्फ सडक ट्रयाक खोल्ने योजना रहेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनु भएको छ। त्यस्तै, टोखा नगरपालिकाले मनोहरतीर्थ धामदेखि ग्राण्डी टावरसम्मका करिडोर क्षेत्रहरूमा दुबैतर्फ कालोपत्रे र पक्की सडक निर्माण कार्य समेत नगरपालिकाले सुरुवात गरेको छ। प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार विष्णुमती करिडोर क्षेत्रमा रहेका सार्वजनिक जग्गामा हरियाली पार्क तथा कालोपत्रेसहितको पक्की सडक निर्माणलाई नगरपालिकाले प्राथमिकता दिइएको बताएका छन् । यसै वर्ष टोखा वडा नं. ९ र ११ मा टेण्डर प्रक्रियाबाट पार्क निर्माण कार्य पनि थालिने बिसीले जानकारी दिएका छन्। करिडोर ट्रयाक निर्माणको कार्यबाट छिमेकी नगरपालिका बुढानिलकण्ठका  साथै यस स्थानीय क्षेत्रको विकास र यातायातमा अधिक सहजता पुग्ने भएकाले नयाँ बसपार्कदेखि विष्णुमती खोला करिडोर हुँदै बुढानिलकण्ठसम्म पुग्ने यो सडक आम स्थानीय बासिका लागि छोटो र सहज मार्ग बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार