फाइल हटाइदिने अडिओ बाहिरिएपछि मन्त्रीका स्‍वकीय मृत भेटिए

मंगलबार, फागुन १३, २०८१
मयुर प्लाई

काठमाडौं । बागमती प्रदेशको सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले आत्माहत्या गरेका छन् । उनले सोमबार (हिजो) राति गहुँमा राख्ने विषादी सेवन गरेर आत्माहत्या गरेको खुलेको छ। धादिङको धुनिवेँशी नगरपालिका–९ घर भएका थापा केही महिनाअघि मात्रै मन्त्री श्रेष्ठको स्वकीयमा नियुक्त भएका थिए ।  प्रदेशको सहकारी मन्त्रालय मातहतमा रहेको सहकारी महाशाखाले गत पुस २८ गते समस्याग्रस्त सहकारी घोषणा गरेको सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिडेटको विषयमा फोनमा गरेको कुराकानी बाहिरिएपछि थापाले आत्माहत्या गरेको खुलेको छ । थापा र अर्का कांग्रेस धादिङका नेता राजु बर्तौलासँग मिलेर समयाग्रस्त सहकारी घोषणा भएको सुमेरुको फाइल सहकारी महाशाखाको सिस्टमबाटै हटाइदिने भन्दै पैसामा बार्गेनिङ गरेको अडियो रेकर्ड बाहिरिएको थियो । सो पश्चात् सहकारी मन्त्रीको निर्देशनमा अडियो रेकर्डमा नाम जोडिएका राजु बर्तौलालाई सोमबार (हिजो) बिहानै प्रहरीमा उजुरी दिएर पक्राउ गर्न लगाएका थिए ।  बर्तौला पक्राउ परेपछि सँगै फोनवार्ता गरेका थापाले १ पानाको सु–साइट नोट लेखेर विष सेवन गरेका पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) अपिल राज बोहोराले जानकारी दिए । उनका अनुसार सोमबार दिउँसो २ बजे कालिमाटीमा रहेको साथीको कोठामा बिष सेवन गरेको अवस्थामा फेला परेका थापाको साँझ ६ः३० तिर उपचारको क्रममा शहिद मेमोरियल अस्पताल, कलंकीमा मृत्यु भएको हो ।  सामाजिक सञ्जालमा भेटिएको उक्त अडियो रेकर्डमा सुमेरु सहकारीका पूर्वसचिव बिनोद आचार्य, कांग्रेस नेता राजु बर्तौला र मन्त्रीका स्वकीय थापाबीच कुराकानी भएको प्रहरीले जनाएको छ ।  यता, सहकारी मन्त्री श्रेष्ठका अनुसार थापा उक्त दिन बिदामा थिए। छोरीको जन्मदिनका लागि धादिङ (घर) गएको उनी बताउँछन्। ‘म त त्यो दिन हेटौंडा नै थिएँ,’ मन्त्री श्रेष्ठले भने, ‘एउटा मिडियाले भ्वाइस रेकर्ड सहितको समाचार प्रकाशन गरेको रहेछ । सो अडियोका उसको (रवि) को पनि आवाज रैछ । मैले मन्त्रालयको बिषयमा नकारात्मक कुरा फैलाएको भन्दै राजु बर्तौलालाई प्रहरीको निगरानीमा लिन भनेँ । त्यसैमा उसको पनि संलग्नता रहेछ । डरले बिष सेवन गरिदियो ।’ कोठामा उनले लेखेको सु–साइट नोटमा मन्त्री श्रेष्ठलाई ‘सरी दाई’ भन्दै आफूले गल्ति नगरे पनि फसाउन खोजेको कारण आत्माहत्या गरेको भन्ने उल्लेख गरेको मन्त्री श्रेष्ठले बताए ।  ‘हाम्रो मन्त्रालय, मन्त्री र सचिवालयले राम्रो काम गरेको भएर फसाउनका लागि यो सबै गरेका हुन्, सु–साइट नोटमा लेखिएको शब्द उल्लेख गर्दै श्रेष्ठले भने, ‘हाम्रो कुरा त भएको थियो दाई ! तर यस्तो बार्गेनिङ गरेर चाहिँ भएको थिएन। फरक बिषयमा भएको कुराको नराम्रो बनाउनको लागि अडियो सम्पादन गरेको हो ।’

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार