आज महाशिवरात्रि, पशुपतिनाथसहित देशभरका शिव मन्दिरहरुमा दर्शनार्थीको घुइँचो 

बुधबार, फागुन १४, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । आज महाशिवरात्रि पर्व । काठमाडौंमा रहेको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजा, आराधना एवं दर्शनका लागि दर्शनार्थीको घुइँचो लागेको छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा घुइँचो छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले २ सेकेण्डमा १० जनाले पशुपतिनाथ मन्दिरको दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको दाबी गरेको छ । आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र लगायत पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ । आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दैछ । पशुपतिनाथ दर्शन र सेना दिवसका कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् । महाशिवरात्रिका अवसरमा पाँच लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गर्ने पशुपति विकास कोषले जनाएको छ । ‘यसपटक मन्दिरभित्र करिब ५ लाख दर्शनार्थी आउने अपेक्षा गरेका छौं’, पशुपति विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले भने, ‘त्यस्तै बाहिरबाट मन्दिर (गजूर) दर्शन पनि ५ लाख हाराहारीले गर्ने अनुमान कोषले गरेको छ ।’ जोशीका अनुसार शिवरात्रिका अवसरमा मंगलबार राति २ बजेदेखि मन्दिर खुला गरिनेछ । त्यस्तै पशुपति मन्दिरका चार ढोकाका आधारमा चारवटा लाइन बाहिरबाट मन्दिरभित्र पस्ने व्यवस्था गरिएको कोषले जनाएको छ । मन्दिरभित्र ती चार लाइनलाई १० वटा सहायक लाइन बनाएर प्रत्येक भक्तजनले २ सकेन्ड दर्शन गर्न पाउनेछन् ।
विगतमा शिवरात्रिमा वितरण गरिने पास दुरुपयोग भएको भन्दै कोषले यसपटक पास खारेज गरेको छ । भीभीआईपी र भीआईपी दर्शनार्थीलाई पशुपति मन्दिरभित्र लैजान वनकालीमा रहेको कोषको कार्यालयमा हेल्प डेस्क राखिएको छ । कोषका कार्यकारी निर्देशक जोशीको संयोजनमा भीआईपी अतिथिले मन्दिर दर्शन गर्न पाउनेछन् । त्यस्तै वृद्ध, अपाङ्गता भएका व्यक्तिलाई कोषले वनकालीमा रहेको हेल्प डेस्कबाट सोझै मन्दिर लैजाने सुविधा दिने जनाएको छ । लाइनमा रहने वृद्ध तथा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वयंसेवक तथा सुरक्षाकर्मीले सघाउने कोषले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार