सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगर वडा नं. १३ मा अवस्थित बासुकी नाग महिला समूहको विक्री कक्ष र उत्पादन केन्द्र सञ्चालनमा आएको छ । उक्त केन्द्रमा बासुकी नाग महिला समूहले सञ्चालन गरेको तालिम पश्चात उत्पादन भएका सामग्रीहरू राखिएका छन् । उक्त विक्री कक्ष र उत्पादन केन्द्रको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । उनले उद्यमशीलतालाई प्रबद्र्धन गर्न सँधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ललितपुर महानगरले धेरै किसिमको तालिम सञ्चालन गरेको बताउँदै उनले तालिम लिएकाहरुलाई काम गर्न अनुरोध गरे । उनले भने, ‘काम गर्न चाहनु हुन्छ भने हामी सिड मनीको व्यवस्था गर्छौ ।’ महानगरमा आउने पाहुनालाई केन्द्रमा राखिएका सामान उपहार दिने उनले बताए । आर्थिक विकास समितिका संयोजक एवम् वडा नं. २१ का वडाअध्यक्ष रविन्द्र महर्जनले समृद्धिको लागि सीप विकास र आर्थिक आयआर्जन महत्व भएको बताए ।
महिला र युवालाई उद्यमी बनाउन सीप विकाससँगै उद्यमशीलता आवश्यक भएको उनको भनाइ थियो । समृद्धिका लागि सीप,उत्पादन र बजारिकरण महत्वपूर्ण भएको उनले बताए । विदेश जाने तयारी गरेका युवा महानगरले उपलब्ध गराएको सिड पूँजीबाट उद्यमी बनेको उनले सुनाए । उनले भने, ‘खोकनामा तितौरा उत्पादन भएको छ । धापाखेलमा जुत्ता बनाउने काम सुरु गर्नु भएको छ ।’ ललितपुर महानगर वडा नं. १३ की वडासदस्य सरु जोशीले महिलाहरु आर्थिक रुपमा सक्षम नभएसम्म सशक्त नहुने बताउँदै महिलालाई उद्यमशीलतासँग जोड्न यो केन्द्र सञ्चालनमा ल्याएको बताइन् । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवम् प्रवक्ता, उद्योग, संस्कृति पर्यटन समितिका संयोजकको उपस्थिति रहेको छ । बासुकी नाग महिला समूहकी अध्यक्ष कोपिला रिजालले आर्थिक रुपमा महिला आत्मनिर्भर नभएसम्म सशक्तिकरण नहुने बताइन् ।