सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दलालको फन्दामा परेर बैंकक पुगेर अलपत्र परेका २० जना नेपालीलाई शुक्रबार बेलुका नेपाल ल्याइने भएको छ । मानव बेचबिखन तथा ओसारपसार ब्युरोका अनुसार ती नेपालीलाई बेलुका बैंकस्थित नेपाली दूतावासको पहलमा नेपाल ल्याइने भएको हो । उनीहरूलाई नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल ल्याइँदै गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए । उनीहरूलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा लगाइदिने भन्दै दलालले केही समयअघि बैंकक पुर्याएका थिए। त्यहाँ पुगेपछि दलालले उनीहरूको पासपोर्ट कब्जामा लिए । पासपोर्ट कब्जामा लिएर दलाल फरार भएपछि नेपाली अलपत्र परेका थिए । अलपत्र परेका नेपालीले बैंकस्थित नेपाली दूतावासमा खबर गरेका थिए । ‘अलपत्र परेका ती नेपालीलाई दूतावासले आफ्नो पहलमा उद्धार गरेर राखेको थियो, दूतावासले ट्राभल डकुमेन्ट बनाएर फर्काउने जानकारी हामीलाई पठाएको छ,’ कुँवरले भने । ती नेपाली के कसरी र कुन देश जानका लागि दलालको फन्दामा परेर बैंकक पुगे भन्ने स्पष्ट खुलेको छैन । ‘दलाल को हुन् पत्ता लाग्न बाँकी छ, जहाजबाट आउन लागेका नेपालीलाई त्रिभुवन विमानस्थलमा लिन हाम्रो टोली जाँदैछ,’ उनले भने, ‘हाम्रो सम्पर्कमा आएपछि अन्य कुराबारे अनुसन्धान हुने छ।’