एघार महिनामा प्रदेश २ को पूँजीगत खर्च तीस प्रतिशत मात्रै 

सोमबार, असार १४, २०७८

सर्लाही । प्रदेश नं २ मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा पर्याप्त खर्च हुन नसकेको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल १९ अर्ब १९ करोड ८ लाख १८ हजार रुपैयाँ पूँजीगत बजेट विनियोजन गरेको थियो । तीमध्ये चालु आर्थिक वर्षको ११ महिनामा सरकारले कूल ५ अर्ब ६८ करोड ६५ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यो कूल पूँजीगत खर्चको २९.८० प्रतिशत हो । प्रदेश लेखा नियन्त्रण कार्यालय, जनकपुरधामका अनुसार नियमित अर्थात् चालु खर्चतर्फ सरकारले १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा सो अवधिमा ४ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ मात्र खर्च भएको छ ।  यो कूल चालु खर्चको ३७.२५ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत मनोजकुमार झाले जानकारी दिनुभयो । कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको छ । मन्त्रालयले विनियोजित कूल बजेटको ४१.१४ प्रतिशत खर्च गरेको छ । 
मन्त्रालयले विनियोजित बजेटको चालूतर्फ ३५ करोड ६० लाख ८१ हजार रुपैयाँ र पूँजीगततर्फ ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो अवधिमा सबैभन्दा कम अर्थात् १३.८ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । सो अवधिमा चालूतर्फ ३४ करोड १० लाख ६१ हजार र पुँजीगततर्फ ११ करोड १४ लाख ८४ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै चालू आर्थिक वर्षको ११ महिनामा आर्थिक मामिला तथा योजना मन्त्रालयले विनियोजित कूल बजेटको ३६.३५ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले सो अवधिमा चालूतर्फ ७ करोड ६ लाख ८६ हजार  रुपैयाँ र पुँजीगततर्फ १ करोड ८० लाख १० हजार  रुपैयाँ खर्च गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सो अवधिमा ३२.८ प्रतिशत बजेट खर्च गरेको छ । तीमध्ये चालूतर्फ ६६ करोड ४३ लाख ४८ हजार र पुँजीगततर्फ ४० करोड ५४ लाख ६० हजार गरी एक अर्ब ६ करोड ९८ लाख ९ हजार  रुपैयाँ खर्च गरेको छ । यसैगरी चालू आर्थिक वर्षको ११ महिनामा सामाजिक विकास मन्त्रालयले चालूतर्फ एक अर्ब ५२ करोड २१ लाख र पूँजीगततर्फ ५८ करोड चार लाख एक हजार गरी कूल दुई अर्ब आठ करोड  २५ लाख रुपैयाँ खर्च गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  ०६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार