सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय धापाखेलले वडा भित्र क्रियाशील महिला समूह मध्येबाट ६ वटा उत्कृष्ठ महिला समूहहरूलाई पुरस्कृत गरेको छ । वडा स्तरीय महिला समिति २४ नं. वडा धापाखेलले शनिबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रम ती महिला समूहरूलाई महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिन् । महानगर २४ नं. वडा भित्र क्रियाशील १७ वटा समूहमध्येबाट एक वर्षयता उनीहरूको क्रियाशीलतालगायतलाई आधार मानेर पुरस्कृत गर्ने निर्णय भएको वडाअध्यक्ष दिनेशजंग पाण्डेले जानकारी दिनुभयो । पुरस्कृत हुनेमा नव लिड्गेश्वर महिला समूह पहिलो, मखुण्डोल महिला समूह दोस्रो तथा सगरमाथा महिला समूह तेस्रो भएका छन् । यस्तै नागदह महिला समूह, पशुपति महिला समूह तथा समावेशी महिला समूहलाई सान्त्वना पुरस्कारसहित सम्मानित गरिएको छ । प्रथम हुनेलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार नगर तथा सान्त्वना हुने महिला समूहलाई प्रति समूह ५–५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । वडा कार्यालयले महिला समूहमा आवद्ध भएर सबै भन्दा कम उमेरमा एकल महिला हुनु भएकी सेता गणेश महिला समूहकी सदस्य श्रृजना मंग्रातीलाई सहयोग स्वरुप रु १० हजार नगद प्रदान गरेको छ । पुरस्कृत भएका समूहहरूलाई कार्यक्रमकी प्रमुख अतिथि महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उपप्रमुख शाक्यलाई वडाअध्यक्ष दिनेशजंग पाण्डे, वडा सदस्य इन्द्रा श्रीश, निशा मालबुल, उद्धब बस्नेत तथा हरिकृष्ण मजर्हनले सहजीकरण गर्नु भएको थियो । नारी दिवस कार्यक्रमकी प्रमुख अतिथि महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले एक नारीले अर्को नारीलाई सम्मान गरेमात्रै नारी दिवस सार्थकता हुने बताउनु भयो । वडा स्तरीय महिला समिति २४ नं. वडा धापाखेलको आयोजनामा भएको कार्यक्रमका विशिष्ठ अतिथि वडाअध्यक्ष दिनेशजंग पाण्डेले आफूहरू वडामा निर्वाचित भएर आएदेखि नै नारी दिवसलाई भव्य कार्यक्रम गरी मनाउन सुरु गरेको जानकारी दिँदै अघिल्लो वर्षदेखि सुरु गरिएको उत्कृष्ठ समूहलाईको पुरस्कृत राशीमा यस वर्ष थोरै बढाइएको बताउनुभयो । कार्यक्रममा वडासदस्य इन्द्रा श्रीश रानाले महिला समूहहरुलाई नेतृत्व हस्तान्तरणतर्फ पनि जान सुझाव दिनुभयो । यस्तै वडासदसय उद्धव बस्नेतले पनि नारीलाई सम्मान गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमकी सभापति वडा स्तरीय महिला समितिकी संयोजक एवम् वडासदस्य निशा मालबुलले सबै महिला समूहलाई कार्यक्रममा उल्लेख्य सहभागिता जनाएर कार्यक्रम सफल पारिदिएको धन्यवाद दिँदै अरु महिला समूहलाई आगामी वर्ष पुरस्कृत हुने गरी काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा महिला समूहका प्रतिनिधि, वडाका सल्लाहकार, वडाका कर्मचारीसहित ठूलो संख्यामा महिला उपस्थित भएका थिए । औपचारिक कार्यक्रमअघि महिला समूहका सदस्य, जनप्रतिनिधि, विद्यालयका शिक्षिकासहित वडावासीहरूले वडा कार्यालय भवनदेखि तीनकुने पोखरीबाट र्याली निकालेको थिए । र्यालीमा धिमे समूहहरूले धिमे बाजा बजाएका थिए ।