सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे शहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्ध सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्धले दुबै देशका जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउने दाबी गरे । उनले भने, ‘दुई सहरबीचको यो सम्बन्धले धेरै कुराको सम्भावना खोलेको छ । ’ ललितपुर महानगर कला, संस्कृति र सम्पदाको सहर भएको बताउँदै उलान उदे सहरमा ललितपुरको संस्कृति र सम्पदा झल्काउने काम गर्न इच्छुक भएको बताए । बुद्धको देश नेपालबाट रसियाका जनतालाई सन्देश लिएर आएको बताउँदै बुर्यातिया प्रमुख र उलान उदे सहरका प्रमुखलाई नेपाल आउन निम्तो दिए । रिपब्लिक अफ बुर्यातिया रसियाका प्रमुख अलेक्सेई स्प्देनोभले नेपाल र रिपब्लिक अफ बुर्यातियाबीच धेरै विषय एक अर्कासँग मिल्दाजुल्दा भएको बताए । भेटघाटलाई बाक्लो बनाउने बताउँदै संयुक्त रुपमा परियोजनाहरु संचालन गर्ने जानकारी दिए । उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले यो भगिनी सम्बन्धले नेपाल र रुसबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताए । दुई देशको विकासका लागि के गर्न सकिन्छ यस सम्बन्धमा थप गृहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उलान उदे रसियाको पुरानो सहर हो । विकासशील यो सहरको विशेषता ललितपुर महानगरसँग मिल्दाजुल्दा छन् । समझदारी पत्रमा सडक निर्माण तथा स्तरोन्नति, महानगरको सार्वजनिक सवारी साधान व्यवस्गित, पर्यटन, शिक्षा र स्वास्थ्य ,ऐतिहासिक सम्पदा संंरक्षण , ग्यालरी र म्यूजियम स्थापनाका , सूचना प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान विषयमा सहकार्य गर्ने उल्लेख छ । नगर प्रमुखले प्रतिनिधिमण्डलमा प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक एवम वडा नं.५का वडा अध्यक्ष विकास मान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहदार मुकुन्द विष्ट छन् । महानगर प्रमुखको प्रतिनिधिमण्डल शनिवार रसिया गएको हो ।