सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । फागु पर्व उल्लास, उमंग र खुशीको पर्व हो । यो पर्वलाई रङहरुको पर्व भनेर पनि मनाउने गरिन्छ । आज यो पर्व नेपालको पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । यो पर्व मनाइरहँदा तपाईंले कहिँकतै गल्ती गरिरहनुएको छैन ? तपाईंको घरमा तपाईंसँगै रहेका कुकुर, बिरालो वा अन्य जनावरलाई जथाभावी रङ दल्नु हुन्छ भने त्यसो नगर्न सुझाव दिन्छन् पशुअधिकारकर्मी र चिकित्सकहरु । स्नेहाज केयरले त फागु पूर्णिमा पूर्वसन्ध्यामा सामाजिक सञ्जाल मार्फत नै जनावरहरुलाई रङ नदल्न आग्रह गरेको छ । रङमा हुने रसायनिक पदार्थले छालासम्बन्धी रोग देखिने र चिलाउने समस्या हुने उल्लेख गर्दै केयरले यस्तो आग्रह गरेको हो । स्नेहाज केयरकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठ फागु खेल्ने क्रममा जनावरलाई रङ दलेर गल्ती नगर्न आग्रह गर्छिन् । उनी भन्छिन् , ‘रङमा भएको रसायनिक पदार्थले चिलाउने, पोल्ने हुन्छ, जनावरले त्यो कुरा बोलेर एस्प्रेस गर्न सक्दैनन् तर असहज गर्छन् ।’ पशु चिकित्सक रामचन्द्र सञ्जेल रङकै कारण जनावरमा छालासम्बन्धी समस्या देखिएको बताउँछन् । बोलेर आफ्नो भावना, दुःख र समस्या व्यक्त गर्न नसक्ने प्राणीलाई फागु खेल्ने नाममा रङ लगाउन नहुने उनको भनाई छ । उनी भन्छन्, ‘कुकुरको पसिना ग्रन्थी छालामा हुँदैन, त्यसकारण जनावरलाई रङले धेरै असर गर्छ ।’ फागु पूर्णिमामा लगाइने रङले मान्छेलाई भन्दा धेरै गुणा असर जनावरलाई गर्छ । त्यसैले जनावरलाई रङ दलेर माया नदेखाऊँ, फागु पर्वमा सहभागी नगराऔँ ।