सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वी सुब्बा गुरुङले जानकारी गराएका छन् । ३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अवकाश हुँदैछन् । एआईजी थापा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत थिए ।
यसरी चिनौ नयाँ आइजिपीमा दीपक थापालाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो । यसअघिका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको कार्यकाल सोमबार राति सकिँदै थियो । कुँवरको कार्यकाल सकिनुअघि सरकारले थापालाई नयाँ नेतृत्वका रूपमा चयन गरेको हो । थापाका प्रतिस्पर्धीको रूपमा एआइजीद्वय टेकबहादुर तामाङ र सुदीप गिरी थिए । दुई प्रतिस्पर्धीभन्दा वरिष्ठतामा अगाडि रहेकाले थापालाई सरकारले प्रहरी महानिरीक्षक बनाएको हो । थापा २०२८ मंसिर ८ गते, सूर्यवनायक नगरपालिका–८ सिपाडोल, भक्तपुरमा जन्मदिएका थिए । उनी २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षक बनेका थिए । उनी २०६३ साल भदौ ८ गते प्रहरी नायब उपरीक्षक बनेका थिए । २०७२ साउन ८ गते प्रहरी उपरीक्षक बनेका थापा २०७५ चैत ६ गते प्रहरी वरिष्ठ उपरीक्षक भए । २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक बनेका थापा त्यही वर्ष चैत ६ गते प्रहरी अतिरिक महानिरीक्षक भएका थिए । नेपाल प्रहरीको विभिन्न निकायमा काम गरिसकेका थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख छन् । उनले कानुनमा एलएलबी, राजनीति शास्त्रमा एमए र जनप्रशासनमा एमपिए गरेका छन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय प्रबन्ध निर्देशनालय, प्रशासन विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखसमेत भइसकेका छन् । साथै, उनले बागमती प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, तथा विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा काम गरेका छन् । थापाले संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत सुडान र लाइबेरियामा पनि सेवा गरिसकेका छन् । थापा प्रहरी संगठनको विद्यमान ३० वर्षे सेवा अवधि अनुसार ६ महिना प्रहरी महानिरीक्षकको कुर्सीमा हुनेछन् । तर, गृह मन्त्रालयले प्रहरी सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ । उक्त विधेयक कार्यान्वयनमा आएको खण्डमा थापाको कार्यकाल छ महिना थपिने छ । थापा राजनीतिक सन्तुलन मिलाएर कार्यसम्पादन गर्ने छवि बनाएका अधिकृत भनेर चिनिन्छन् । उनी आक्रामक प्रहरी अधिकृत पनि हुन्। थापालाई आज मंगलबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्ने कार्यक्रम छ । सो कार्यक्रम सकिएपछि थापा प्रहरी प्रधान कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने छन् । कुँवरले दुई वर्ष लामो कार्यकालमा धेरै काम गरे पनि सरुवा–बढुवाजस्ता महत्वपूर्ण कार्यहरूमा राजनीतिक शक्तिकेन्द्रसँग नतमस्तक भएको आरोप खेपेका थिए । छ महिनाको छोटो कार्यकालमा थापाले प्रहरी संगठनलाई कुन बाटोमा डोर्याउँछन् हेर्न बाँकी छ ।