सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट खरिदका लागि एक करोड रुपैयाँ उपलव्ध गराउने भएको छ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा गठित महानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले प्लान्ट खरिदका लागि एक करोड रुपैयाँ दिने निर्णय गरेको हो । पाटन अस्पताललाई सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि हब अस्पताल तोकेको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले कोरोना संक्रमितको उपचारका लागि पाटन अस्पतालले राम्रो काम गरेकाले सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । पाटन अस्पतालसँगको बैठकमा अस्पताललाई अक्सिजन प्लान्ट अत्यावश्यक भएका पाएपछि सहयोग गरेको स्पष्ट पारे । महानगर प्रमुख महर्जनको नेतृत्वमा अस्पताल पुगेको टोलीसँग अस्पतालका निर्देशक प्रा.डा रवि शाक्यसहितका चिकित्सक र कर्मचारीले अक्सिजन प्लान्ट बिग्रिएकाले कोभिड बिरामीको उपचार कठिन भएको अवगत गराएका थिए । कोभिड बिरामीको उपचारमा संलग्न चिकित्सकलाई बधाई दिन र समस्या बुझ्न महानगरका जनप्रतिनिधि कर्मचारीसहित दुई पटक पाटन अस्पताल पुगिसकेको छ । । उक्त टोलीमा उपप्रमुख गीता सत्याल, सामाजिक विकास समितिका संयोजक दिनेश कार्की, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, कोभिड फोकल पर्सन देवी थापा गुरुङलगायत थिए । त्यतिबेला महानगरप्रमुख चिरीबाबु महर्जनले अक्सिजन प्लान्ट खरिदका लागि लागत इस्टिमेटसहितको प्रस्ताव पेश गर्न अस्पताललाई आग्रह गरेका थिए । अस्पतालबाट अक्सिजन प्लान्टकालागि बजेट सहितको प्रस्ताव प्राप्त भएपछि महानगरको विपद् व्यवस्थापन समितिले प्लान्ट खरिद गर्न रकम दिने निर्णय गरेको हो । बैठकमा वडा नं २१ का वडा अध्यक्ष रविन्द्र महर्जन, २४ का वडाअध्यक्ष दिनेश कार्की, ३ का वडाअध्यक्ष श्रीगोपाल महर्जन, २० नं वडाका अध्यक्ष चन्द्र महर्जन, १२ नं वडाका अध्यक्ष नारायणलाल अवालेलगायतको उपस्थिति थियो ।