युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग

मयुर प्लाई

  काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेकी उनीहरुबीच आज भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको थियो । 
त्यस अवसरमा मन्त्री डा. राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि उहाँमार्फत युक्रेन सरकारसँग आग्रह गरेकी छन् । 
नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहे पनि मानव तस्करहरु मार्फत् नेपालीहरुलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको स्पष्ट गर्दै मन्त्री डा. राणाले रुसी सेनामा कार्यरत रहेका सात नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरुको रिहाइको माग गरेकी हुन् । 
उनीहरुलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको जानकारी दिँदै उनले ती सात नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गरिन् । 
त्यस भेटका क्रममा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । त्यस भेटका क्रममा मन्त्री डा राणाले नेपालले सन् २०२७ देखि २०२९ का  लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्य लगायतमा  उम्मेदवारी दिएकाले त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रह गरिन् । 
यसैबीच यस भेटका क्रममा दुई देशकाबीचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट बाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । 

परराष्ट्रमन्त्री डा राणासँग मल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्रीसँग पनि भेट 

यसैबीच परराष्ट्रमन्त्री डा राणा ले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग आजै नयाँ दिल्लीमा भेटवार्ता गरेकी छन् । भेटका क्रममा नेपाल मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै यस समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो । 

WhatsApp-Image-2025-03-18-at-17.09.05-1742311456.jpeg
त्यस अवसरमा मन्त्री डा राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नति हुन लागेको सन्दर्भमा नेपालले तयारी गरिरहेको र त्यसपछि नेपाललाई आवश्यक पर्ने सहयाताका बारेमा पनि जानकारी दिएकी थिइन् । साथै उनले नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्यलगायतमा दिएको उम्मेदबारीका बारेमा जानकारी दिँदै त्यसमा मल्दोभाको सहयोगका लागि आग्रह पनि गरेकी छन् ।  
मन्त्री डा राणाले यसै हप्ता हुन लागेको विदेशमन्त्री मिहाइ पोपसोइको नेपाल भ्रमणबाट पनि दुई देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने धारणा राखेकी थिइन् । 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार