सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । शुक्रबार मध्यराति आएको भीषण हावाहुरीसहितको असिना पानीका कारण रौतहट जिल्लाका किसानहरु ठूलो मारमा परेका छन् । विशेष गरी जिल्लाको उत्तरी क्षेत्रका कृषकहरुले लगाएको मकै तथा गहुँबाली पूर्ण रुपमा नष्ट भएको छ । चन्द्रपुर, फतुवा विजयपुर, गुजरा तथा वृन्दावन नगरपालिकाका विभिन्न वडामा खेती गर्दै आएका किसानहरुको बालीनाली पूर्ण रुपमा सखाप भएपछि उनीहरु गहिरो चिन्तामा परेका छन् । स्थानीय किसानहरुका अनुसार उनीहरुले मेहनतका साथ लगाएको अन्नबाली असिना पानीले पूर्ण रुपमा नष्ट गरिदिएको छ । वृन्दावन नगरपालिका–१ का किसान रामलोचन राउतले लगाएको एक विघा १० कठ्ठा मकै पूर्ण रुपमा नष्ट भएको छ । त्यस्तै, चन्द्रपुर–१० का किसान अवधलाल राउतले आफ्नो करेसावारी तथा मकैबाली पूर्ण रुपमा क्षति पुगेको बताएका छन् । राउतका अनुसार उनले खेतमा लगाएको काक्रो, साग, करेला, प्याज, खुर्सानी तथा डेढ विघामा लगाएको मकै पूर्ण रुपमा नष्ट भएको छ । वृन्दावन–१ बलेरीका किसान प्रेमलाल पटेल, रविन्द्र पटेल र हेमन राउतले समेत ठूलो नोक्सानी व्यहोरेका छन् । प्रेमलाल पटेलले १० कठ्ठा, रविन्द्र पटेलले १५ कठ्ठा, हेमन राउतले १५ कठ्ठा मकै तथा १५ कठ्ठा गहुँबाली पूर्ण रुपमा गुमाएका छन् । बलेरी क्षेत्रका मात्रै करिब ५ सय विघामा लगाएको मकैबाली असिना पानीले नष्ट पारेको वृन्दावन जल उपभोक्ता समितिका सचिव सुरेन्द्रप्रसाद पटेलले जानकारी गराएका छन् । कृषकहरुले आफ्नो मेहनतले लगाएको बालीनाली एकै रातमा नष्ट भएपछि ठूलो आर्थिक मारमा परेका छन् । यस संकटपूर्ण अवस्थालाई ध्यानमा राख्दै स्थानीय तथा प्रदेश सरकारलाई राहत उपलब्ध गराउन किसानहरुले माग गरेका छन् । वृन्दावन जल उपभोक्ता समितिका सचिव पटेलले भने, “किसानले ठूलो आशा राखेर बाली लगाएका थिए, तर असिना पानीले सबै नष्ट गरिदियो । स्थानीय सरकारले पीडित किसानहरुको विवरण संकलन गरी संघ तथा प्रदेश सरकारसमक्ष राहतका लागि पहल गर्नुपर्छ । कृषि प्रधान देश नेपालमा किसानहरु प्राकृतिक प्रकोपको मारमा परिरहँदा राहत तथा क्षतिपूर्ति कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक देखिन्छ । स्थानीय सरकारहरुले प्रभावित कृषकहरुको उचित क्षतिपूर्ति दिलाउन पहल गर्नुपर्ने आवाज उठ्न थालेको छ ।