सोसल मिडिया
Contact Us
युनिकोड
रामेछाप । पछिल्लो समय धेरै मानिसमा पाइल्स, फिसर, फिस्टुला लगायत मलद्वारमा हुने विभिन्न खालका रोगको समस्या देखिने गरेको छ । अब यसको उपचार रामेछापको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा नै हुने भएको छ । उपचार गर्ने ठाउँ बारे जानकारी नहुँदा र लाजको कारण धेरै मानिसहरूले यो रोग लुकाउने गरेको पाइएको छ । धेरै जसो मानिसमा मलद्वारसँग सम्बन्धित सबै रोगहरू पाइल्स नै हो भन्ने भ्रम पनि रहेको छ । ‘मलद्वारबाट रगत आउने, मलद्वार सुन्निने, चिलाउने, घाउ हुने, पिपआउने जस्ता समस्याका आधारमा रोगको निदान अलगअलग हुने मन्थलीस्थित आयुर्वेद वैकल्पिक चिकित्सालयकी प्रमुख डा. पुनम नेपाल बताउँछिन् । मानिसको खानपान र जीवनशैलीको कारण यस्तो रोकको समस्या बढ्दै गएको डा.नेपालले बताइन् । ‘तथ्याङ्कअनुसार करिब ७० प्रतिशत मानिसहरूलाई आफ्नो जीवनमा कुनै न कुनै बेला मलद्वार सम्बन्धी समस्या हुने गरेको छ, यी समस्याहरूको प्रमुख कारण हाम्रो खानपान र जीवनशैली नै हो’, उनले भनिन् । यदि परिवारमा कसैलाई पाइल्सको समस्या छ भने आनुवांशिक रूपमा पनि यो रोग पछिल्ला पुस्तामा सर्ने उनले जानकारी दिइन् । त्यसैगरी महिलालाई गर्भावस्थामा पनि पाइल्स हुन सक्ने डा. नेपालको भनाई छ । ‘रेसादार खानेकुराको अभाव, विलासी जीवनशैली र बजारमा पाइने तयारी खानेकुरा बढी खानाले कब्जियत, पाइल्स तथा फिसरका समस्याहरू आउँछन्, प्रारम्भिक चरणमा देखिएका लक्षणहरूको बेवास्ता गर्नाले रोग जटिल भई शल्यक्रिया गर्नुपर्ने वा निको नै नहुने भई क्यान्सरसम्म हुन सक्छ’, उनले भनिन् । मलद्वारबाट रगत आउने, मलद्वार सुन्निने, चिलाउने, घाउ हुने, पिपआउने, दुख्ने, दिसा गरेपछि पनि दिसा बाँकी भएको अनुभव हुने समस्या भए तत्काल उपचार गराउनु पर्ने नेपालको भनाइ छ । यसबाट बच्नको लागि प्रचुर मात्रामा हरियो रेसादार सागसब्जी, फलफूल, तरकारी र प्रशस्त मात्रामा पानीपिउनु पर्ने उनको सुझाव छ । दिसा गर्दा बल प्रयोग नगर्न, ट्वाइलेटमा लामो समय नबस्न, मोबाइल वा किताव लिएर ट्वाइलेटमा नजान उनको सुझाव छ । यस्ता समस्या भएका बिरामीको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीमा उपचार सेवा उपलब्ध भएको उनेले बताइन् । ‘प्रारम्भिक चरणमा औषधि उपचारबाट नै रोग ठिक हुन्छ, यदि रोग जटिल भई शल्यक्रिया आवश्यक भएमा यस चिकित्सालयमा प्रत्येक महिनाको अन्तिम शनिबार विशेषज्ञ सेवा प्रदान गरिन्छ, काठमाडौंबाट विशेषज्ञ चिकित्सक आएर सेवा दिनुहुन्छ, अति न्यून शुल्कमा काठमाडौँका सुविधा सम्पन्न अस्पतालले दिने सेवा मन्थलीमा नै दिने गरेको छौँ’, उनले भनिन् । डा.नेपालले यस्तो रोग लागेका बिरामीलाई रोग लुकाएर नबस्न पनि सुझाव दिइन् । रोग लुकाएर समयमा नै उपचार नगर्दा रोग बिग्रन गई क्यान्सर भएर मानिसको ज्यान जान सक्ने अवस्था आउने भएकोले छिटो भन्दा छिटो उपचारको लागि आउन उनले आग्रह गरिन् ।