सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिका र ज्यापु समाज यलको संयुक्त आयोजनामा सोमबार राजश्व(कर) सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ज्यापु समाज यल, उद्योग वाणिज्य तथा हस्ताकलाकी प्रमिला महर्जनको सभापतित्वमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाकाकी उपप्रमुख एवम् स्थानीय राजश्व परामर्श समितिका सयोजक मञ्जली शाक्य बज्रचार्य प्रमुख अतिथि हुनुहुन्थ्यो । ललितपुरको भोलागणेशस्थित ज्यापु समाज यलको भवनमा आयोजित कार्यक्रमको प्रमुख अतिथि ललितपुर महानगरपालिकाकाकी उपप्रमुख एवम् स्थानीय राजश्व परामर्श समितिका सयोजक मञ्जली शाक्य बज्रचार्यले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा महानगरपालिका राजश्व प्रशासन महाशाखा प्रमुख सहजित राईले महानगरपालिकाले उठाउने कर (राजश्व)का विषयमा प्रस्तुतिकरण दिनुभएको थियो । महाशाखा प्रमुख राईले महानगरपालिकाले उठाउँदै आएको सम्पत्ति कर (घर जग्गा), भूमिकर/मालपोत, घर बहाल कर, विज्ञापन कर, अन्य मनोरञ्जन कर, व्यवसाय रजिष्ट्रेशन दस्तुरका विषयमा जानकारी गराउनु भएको थियो । यस्तै कार्यक्रममा आन्तरिक राजश्व कार्यालय लगनखेलका कर अधिकृतहरूले पान, भ्याटसहित आयकरका बारेमा प्रस्तुतिकरण दिनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाकाकी उपप्रमुख एवम् स्थानीय राजश्व परामर्श समितिका सयोजक मञ्जली शाक्य बज्रचार्यले राजश्व (कर) संसार भर प्रचलनमा रहेको जनाउँदै कर छुट नहुने उल्लेख गर्नु भयो । सम्पत्तिको भोगाधिकार हाम्रो भए पनि राज्यलाई भोगाधिकारबापत कर तिर्नुपर्ने उल्लेख गर्दै उहाँले नागरिकले तिरकै करबाट राज्यका निकायहरूले टोल टोलमा विकास निर्माणसहित सामाजिक उत्तरदायित्वको कार्य गर्ने बताउनुभयो । कार्यक्रममा ज्यापु समाज यलका अध्यक्ष सन्तमान महर्जनले करका विषयमा बुझेर व्यवहार गर्न नागरिकहरूलाई आह्वान गर्नुभयो । ज्यपु समाज यलकी उद्योग तथा सूचना विभाग प्रमुख सरिता महर्जनले कार्यक्रममा उपस्थित महानुभावहरूलाई स्वागत गर्दै कार्यक्रममा करका विवरणसहित छुट र समयमै कर तिर्दा हुने फाइदाका बारेमा जानकारी पाइने भएकाले कार्यक्रम महत्वपूर्ण भएको धारणा राख्नुभएको थियो ।