सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रका प्रतिनिधिलाई सहभागी गराएर तीन महिने साङ्केतिक भाषाको तालिम सुरु गरेको छ । उक्त तालिमको ललितपुर महानगर उप प्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्घाटन गरिन् । तालिममा महानगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सामाजिक क्षेत्रमा कार्यरत व्यक्तिलगायतको सहभागिता रहेको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले साङ्केतिक भाषा अन्तर्राष्ट्रिय भाषा भएको बताइन् । उनले भनिन्, ‘श्रवण शक्ति नभएका र कम भएका मानिस विश्वभर हुने भएकाले यसको महत्व संसारभर छ ।’ यो तालिमपछि तालिमका सहभागीहरुको सोच र जीवनशैली नै परिवर्तन हुने बताउँदै तालिम प्रभावकारी भएको बताइन् । तालिममा सहभागी सबैलाई उनले सिकेका कुरा व्यवहारमा उर्तान अनुरोध गरिन् । साङ्केतिक भाषामा दुई हातका पाँचवटा औँलाहरु सक्रिय हुने भएकाले एकाग्रता समेत कायम हुने दाबी गरिन् । ‘औँला चलाउँदा विभिन्न प्रकारको व्यायाम हुन्छ, यसले धेरै फाइदा पुर्याउँछ, एकाग्रता एक हो । ’
साङ्केतिक भाषा अन्तर्राष्ट्रिय भाषा भएको बताउँदै यो भाषा राम्रोसँग सिक्दा अन्तर्राष्ट्रिय अवसर समेत प्राप्त हुने बताइन् । महिला विकास शाखाकी प्रमुख शोभा खरेलले भाषा संचारको महत्वपूर्ण अवयव भएको बताउँदै साङ्केतिक भाषासम्बन्धी तालिमले सेवा प्रवाहलाई चुस्त बनाउने बताइन् । जनप्रतिनिधि र स्वास्थ्यकर्मीलगायत अन्य महत्वपूर्ण क्षेत्रका व्यक्तिहरुलाई सहभागी गराएर आयोजना गरिएको तालिम प्रभावकारी हुने उनको भनाई थियो । ललितपुर बहिरा संंघकी अध्यक्ष शिखा प्रधानले जनप्रतिनिधि लगायत अन्य महत्वपूर्ण क्षेत्रका व्यक्तिलाई सहभागी गराएर तालिम आयोजना गरेको खुशी व्यक्त गरिन् । साङ्केतिक भाषा सिक्नु भनेको सीप सिक्नु बराबर भएको बताउँदै यो तालिम उपयोगी तालिम भएको बताइन् ।