सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । रौतहटको गरुडा नगरपालिकाको चोकमा रहेको तरकारी बजारमा शुक्रबार विहान आगलागी भएको छ । आगलागीबाट करिव तीनवटा भन्दा बढी फुसको घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय कमल जयसवालले सञ्चालन गरेको होटलमा आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । प्रहरीका अनुसार आगलागीले घरमा राखिएको दुईवटा ग्यास सिलिण्डर विष्फोट भएको छ । ग्यास सिलिण्डर विस्फोट भएपछि आगो नियन्त्रणमा बाहिर गए पनि कुनै प्रकारको मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार राय बताए । उनका अनुसार आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाको टोली घटनास्थल पुगेको थियो । सुरक्षाकर्मी, स्थानीयबासी र गौरबाट आएको वरुणयन्त्र (दमकल)को सहयोगमा आगो नियन्त्रणमा आएको उनले जानकारी दिए । आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको उनले बताए । कति वटा फुसको घर जलेर नष्ट भएकोबारे आधिकारिक जानकारी प्राप्त नभए पनि तीनवटा भन्दा बढी नै जलेको डिएसपी रायले बताए । आगलागीबारे भएका क्षतिका विवरण संकलन भइरहेकोे जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।