सोसल मिडिया
Contact Us
युनिकोड
भैरहवा । रुपन्देहीको मर्चवार क्षेत्रबाट घुस सहित सई पक्राउ परेका छन् । प्रहरी चौकी हाटीबनगाई (दुर्गौलिया) का प्रमुख प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्कालाई ३० हजार नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । मायादेवी गाउँपालिका वडा नं.६ मकरीमाबाट नियन्त्रण लिई उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । जिल्लामा पछिल्लो समय तस्करी बढेसँगै तस्कर र सुरक्षा निकायको समन्धलाई यो घटना झस्काएको छ ।
२ अर्ब बराबर अनलाइन जुवा खेलाउने ११ जना भारतीय नागरिक पक्राउ अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जना भारतीय पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–३ देउला टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणासमेत ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । बुढानिलकण्ठ नगरपालिका–३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरूले अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न ११ जना भारतीयहरूलाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले उनीहरूको साथबाट मोबाइल ३४ थान, ल्यापटप ५ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटिएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान समेत बरामद गरेको छ । साथै, उनीहरूले हाल सम्म २ अर्ब भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार रूपैयाँ भन्दा बढी रकम अभौतिक मुद्राको कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।