राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने, ‘तपाईंहरू मादल बजाएर आएको हो ?’

सोमबार, चैत १८, २०८१
मयुर प्लाई

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कथा र शब्दजालले अब मानिसले नपत्याउने बताएका छन् ।  उनले युवापुस्ता यो व्यवस्थाप्रति सचेत र परिचित रहेको पनि बताए । उनले अब युवापुस्ताले गणतन्त्र उल्ट्याउने पनि उनले दाबी गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले गणतन्त्रको नाममा लूट मच्चाइएको भन्दै यो अब युवापुस्ताले नमान्ने जिकिर गरेका हुन् । उनले उड्ने प्लेनदेखि बस्ने प्लेन ठाउँसम्म कमिसन खाएको र भ्रष्टाचार गरेको कतै नछिपेको बताए ।  उनले नेपाली युवालाई नक्कली भुटानी बनाएर बेच्ने पनि यही व्यवस्थाका पक्षपातीहरूबाट भएको बताए । उनले राजा हटेपछि नारायणहिटीमा कसले व्यापार सुरू गर्‍यो ? जगजाहेर रहेको भन्दै प्रश्न गरे ।  उनले गणतन्त्रवादीहरू मादल बजाएर आएको हो ? भन्दै प्रश्न गरे। उनीहरूले हत्या–हिंसा गरेको कतै नछिपेको बताए ।  उनले चैत १५ गते छतमाथि बसेर गोली र म्याद सकिएको अश्रुग्यास हानिएको बताए । उनले यो घटनामा राज्य जिम्मेवार रहेको भन्दै  विश्व समुदाय र मानव अधिकार जमातको ध्यानाकर्षण गराए । उनले न्यायिक छानबिनको माग गरे ।

'जनताले चाहे गणतन्त्र क्षणभरमै जान्छ' 
सम्बोधनका क्रममा राप्रपा अध्यक्ष लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि नटिक्ने बताएका छन् ।  उनले कांग्रेस, एमाले माओवादीलगायतका दललाई ‘तपाईँहरु मान्छे नमारी, तोफोड नगरी आएको हो ?’ भन्दै प्रश्न गरेका हुन् । उनले भने, ‘जनताले चाहेको खण्डमा गणतन्त्र एकछिन पनि टिक्न सक्दैन । गणतन्त्र जान्छ । त्यसकारण जनताको, युवाको  शक्तिलाई होच्याउने काम नगर्नुस् । चैत १५ गते आन्दोलनकारीले  मात्रै  ज्यादती  गरेको  हो ? नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईं कांग्रेस, एमाले भन्नेहरु आज यो सत्तामा भजन–किर्तन मादल बजाउँदै  आइपुगेको हो ?  तपाईंहरु तोडफोड नगरी आएको  हो ? मान्छे  नमारी आएको  हो ?  त्यसकारणले सविन महर्जन हिँडिरहेको बेला गोली किन हानियो, छतमाथि बसेर अश्रुग्यास किन प्रयोग गरियो ? त्यसको जवाफ चाहिन्छ ।’  साथै उनले गणतन्त्रवादी नेताहरुले व्यवस्थाको नाममा लुट मच्चाइरहेको आरोप लगाएका छन् । उनले किर्ते कुराले अबको युवा पुस्ता नमान्ने बताए । उनले भने,‘कथाले, शब्द जालले अबको पुस्ता मान्नेवाला छैनन् । तपाईँको मिथ्याङ्कले, मिथ्या इतिहासले अबको पुस्ता मान्नेवाला छैनन् । अहिलेको डिजिटल युवा, अहिलेको सूचना प्रविधिका युवा यसबाट राम्रो परिचित छ । तपाईँले राजा किन हटाउन खोज्नु भएको रहेछ, राजा हटाएपछि नारायणहिटीमा तुरुन्तै व्यापार गर्न कसले खोज्यो ? के–को लागि तपाईँले राजा हटाउनु भएको रहेछ, युवा पुस्ताले हेरिरहेको छ । राजा हटाएर देशमा लोकतन्त्र र गणतन्त्रको नाममा कुन प्रकारको लुटतन्त्र मच्चाइरनु भएको छ ? जनताले हेरिरहेका छन् । तपाईँको किर्ते कुराले अबको युवा पुस्ता मान्दैनन् ।’ 


 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार