पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु

मंगलबार, चैत १९, २०८१
मयुर प्लाई

रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमणका विरुद्ध मंगलबार मन्थलीमा अन्तरक्रिया कार्यक्रम गरेको छ । रामेछाप शाखाका अध्यक्ष दीपककुमार घिमिरेको अध्यक्षता र महासंघका केन्द्रीय सदस्य नवराज पथिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी पत्रकारहरूले घटनामा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य पथिकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गरी सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन माग गरे । सो घटना गराएर प्रतिगमनकारीले पत्रकारको मनोवल गिराउने प्रयत्न गरेका उनको भनाइ छ । सो घटनामा संलग्नलाई कारबाही नगर्ने हो भने अन्य पत्रकारले पनि सुरक्षित भएर काम गर्ने वातावरण नबन्ने उनले बताए । 
पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरे, पूर्वअध्यक्षहरु रमेश ढुङ्गेल, टिका प्रसाद भट्ट, हिमाल ढुङ्गेललगायतले पत्रकारको हत्या र सञ्चामाध्यम माथि तोडफोड भएका घटनाको गहिरो अनुसन्धान गरी घटनामा संलग्नलाई हदैसम्मको सजाय हुनुपर्ने माग राखे ।   पत्रकारहरुले आन्दोलनका नाममा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याई क्षति पुर्याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउनुपर्ने  उनीहरुको माग छ ।   पत्रकार महासंघ रामेछापका अध्यक्ष घिमिरेले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्यउन सबै क्षेत्रबाट दबाब दिनुपर्ने बताए । यस्ता घटना गराउनेहरु उत्साहित हुँदा अराजकता बढ्दै जाने उनको धारणा छ । 
कार्यक्रममा प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठ, प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विक लगायतका पत्रकारहरूले काममा खटिएको पत्रकारको हत्या दुखद भएको बताए । यस्ता घटना फेरि दोहोरिन नदिन अहिलेका घटनामा संलग्नलाई कारबाही हुने पर्ने उनीहरुको माग छ । 
यसै बिच हत्या गरिएका पत्रकार रजकका परिवारलाई सहयोगको लागि रामेछापका पत्रकारहरुले सहयोग संकलन गर्न सुरु गरेका छन् । पत्रकारहरुका बिचबाट सहयोग संकलन गरी पीडित परिवारलाई दिनको लागि सहयोग संकलन सुरु गरिएको नेपाल पत्रकार महासंघ रामेछापका कोषाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए । आज अन्तरक्रियामा भेला भएको पत्रकार मध्यबाट १५ हजार रुपैँयाभन्दा बढी रकम संकलन भइसकेको श्रेष्ठले बताए ।
 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार