पन्जाबसँग चेन्नई पराजित

बुधबार, चैत २७, २०८१
मयुर प्लाई

नयाँदिल्ली । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई १८ रनले हराएको छ । २ सय २० रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा २ सय १ रन बनाउन सक्यो । रचिन रविन्द्र र डेभन कन्वेले चेन्नईलाई बलियो सुरुवात दिलाए पनि त्यसपछिका ब्याट्सम्यान सम्हालिन नसक्दा चेन्नईले हार बेहोर्न बाध्य भएको थियो । शिवम् दुवे र महेन्द्र सिंह धोनीले इनिङलाई सम्हाल्ले कोसिस गरेपनि त्यो पर्याप्त भएन । रविन्द्र र कन्वेले पहिलो विकेटका ६१ रनको साझेदारी गरे । रविन्द्रले ३६ रन र कन्वेले अर्धशतक बनाए । दुवेले ४२ र धोनीले २७ रन जोडे । पन्जाबका लोकी फर्गुसनले २, यश ठाकुर र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए । महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले प्रियांन्स आर्यको‌ शतकसँगै २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १९ रन बनाएको थियो । ओपनर प्रियांन्सले कीर्तिमानी रन जोडे‌का हुन् । उनी क्रिजमा जमे ।  अन्य खेलाडीले उनलाई साथ समेत दिन सकेनन् । पहिलो पावर प्लेको समाप्तिमा पन्जाबले ७५ रन बनाउँदा ३ विकेटको क्षति व्यहोर्नु परेको थियो । दोस्रोदेखि छैटौं क्रमका ५ ब्याटरले दोहोरो रन बनाउन सकेनन् । ८३ रन जोड्दा ५ विवेट झरिसकेको थियो । प्रियान्स एक्लै क्रिजमा टिके र विष्फोटक ब्याटिङ गरे ।
प्रियान्सले ३९ बलमा नै शतक बनाउने क्रममा ७ चौका र ९ छक्का प्रहार गरे । उनी आइपिएलमा छिटो शतक बनाउने भारतीय खेलाडी बनेका छन् ।  सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान युसुफ पठानको नाममा रहेको छ । उनले सन् २०१० मा ३७ बलमा शतक प्रहार गरेका थिए । प्रियान्स यो सिजन शतक बनाउने दोस्रो ब्याटर हुन् । यसअघि सनराइजर्स हैदराबादका ईशान किशनले शतक बनाएका थिए । प्रियान्स ४२ बलबाट १ सय ३ रनको तारिफयोग्य इनिङ्स खेल्दै नुर अहमदको बलमा आउट भए । त्यसपछि सशांक सिंह र मार्को जानसेनले सातौं विकेटको लागि ६५ रनको अविजित साझेदारी गरे । सशांकले अर्धशतक बनाए । उनले ३६ बलमा अविजित ५२ र मार्कोले अविजित ३४ रन बटुले । बलिङमा चेन्नईका खालिद अहमद र रविचन्द्र आश्विनले समान २ २ विकेट लिए । ४ खेलमा ६ अंकसहित पन्जाब चौथो स्थानमा छ । ५ खेलमा २ अंकसहित चेन्नई नवौ स्थानमा छ । हिजो भएको पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई ४ रनले हराएको थियो । ५ खेलमा ६ अंकसहित लखनउ पाचौं र ४ अंकसहित कोलकाता छैटौं स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार