सोसल मिडिया
Contact Us
युनिकोड
बबी शाक्य काठमाडौंकै छोरी–बुहारी हुन् । बबीका बुवा जिल्ला वन अधिकृत थिए, त्यसैले उनी कक्षा आठसम्म बुबाको जागिर जताजता भयो, त्यता त्यतै गइन् । त्यसपछिको पढाई मामाघरमा बसेर पुरा गरिन् । २८ वर्षको उमेरमा बबीको जीवनमा सोच्दै नसोचेको घटना भयो । काखमा दुधे सन्तान हुँदा उनको स्तनमा क्यान्सर देखियो । ३८ वर्षमा दोस्रो, ४० वर्षको उमेर तेस्रो र ४३ वर्षको उमेरमा चौथो गरी चार वटा क्यान्सर झेलिन् । विगत १३ वर्षदेखि उनी क्यान्सर मुक्त छिन् । ५६ वर्षकी बबी अहिले क्यान्सर सचेतना कार्यक्रममा व्यस्त छिन् । समयमै रोग पहिचान र उपचार, परिवारको साथ र माया, आत्मविश्वास र सकारात्मक सोच नै क्यान्सरलाई हराउने महत्वपूर्ण अस्त्र भएको बबी बताउँछिन् । चारवटा क्यान्सरसँग लडेर विजय प्राप्त गरेकी बबी शाक्यसँग शब्दपाटी डिजिटल मिडियाकी सम्पादक रमा लुइँटेलले शब्दपाटी विशेष श्रृंखलाको लागि कुराकानी गरेकी छन् ।
आमाबुवाका हामी दुई सन्तान मात्रै । त्यतिबेला श्रीमानको जागिरका कारण म कम्बोडिया थिएँ । नेपालमा बिरामी आमालाई दिदीले स्याहारसुसार गरिरहनु भएको थियो । दिदीको पनि घरपरिवार र सानो बच्चा थियो । हाम्रो लागि जागिर र पैसा भन्दा आमाको लागि हाम्रो साथ र आवश्यकता ठूलो थियो । त्यसैले, हामी आमाको हेरचाह गर्न नेपाल फर्कियौँ । आमाको उपचार चाबहिलको ओम नर्सिङ होममा भइरहेको थियो । हामी दिदीबहिनी पालैपालो आमालाई लिएर अस्पताल जान्थ्याँै । अस्पतालको भित्तामा ‘स्तनमा गाँठागुठी देखिए त्यो अर्बुद रोग हुनसक्छ , चिकित्सकको सल्लाह लिनुस्’ जस्ता सन्देश लेखिएको पम्प्लेट टाँसिएको थियो । अस्पताल जाँदा आउँदा म त्यो सन्देश पटक पटक पढ्थेँ । आमा पनि क्यान्सरको बिरामी भएकाले म यो रोगप्रति जानकार थिएँ । तर, अर्बुद रोग भनेको क्यान्सर हो भन्ने थाहा थिएन । एक दिन छोरालाई दुध खुवाउँदै गर्दा मैले मेरो स्तनमा गुच्चा जस्तै डल्लो फेला पारेँ । त्यो डल्लो रमाइलो डल्लो थियो । यस्सो थिच्यो, एकतिर पुग्थ्यो । फेरि थिच्यो, अर्काेतिर पुग्थ्यो । यो क्रम केही दिन चल्यो । म यो डल्लोसँग रमाउन थालेँ । मलाई रमाइलो लागेको त्यो डल्लो त, जीवन, जगत, रोग, सम्बन्ध, पैसा, जीत र हारको परिभाषा बुझाउने ‘भयानक’ रोग पो रहेछ ।
........
स्तनको गाँठोबारे मैले सासु, दिदी, माइजु, काकीलाई भनेँ । सबैले ‘दुध गाँनिएर हो, बच्चाले जतिधेरै दुध तान्यो त्यति नै छिटो त्यो, गाँठो फुट्छ , केही होइन ’ भन्दै त्यो डल्लोको व्याख्या गर्नुभयो । केही दिन त उहाँहरुको कुरालाई विश्वास गरेँ । दिन बित्दै गयो, तर, गाँठो हराएन । दुखेजस्तो भयो, असजिलो महसुस हुन थाल्योे । त्यसपछि हामी चिकित्सककोमा गयौँ । परीक्षण गर्दा त्यो डल्लो, डल्लो मात्रै नभएर क्यान्सर पो रहेछ । सोच्दै नसोचेको कुरा भयो । म रोएँ, आत्तिएँ । क्यान्सर त्यतिबेला अहिले जस्तो थिएन । क्यान्सरको बारेमा चेतना थिएन । उपचारमा सहजता थिएन । उपचार महंगो थियो । क्यान्सर नो आन्सर भनिन्थ्यो । तर, मलाई बाँच्नु थियो । दुई सन्तानका लागि, श्रीमानका लागि बाँँच्नु थियो । सबैभन्दा ठूलो कुरा त आफ्नै लागि बाँच्नु थियो । मैले क्यान्सरलाई –तिमीलाई पराजित गर्न सक्छु भन्ने आन्सर दिनु थियो । शरीरमा क्यान्सर पसेको थाहा भएपछि जसरी पनि यसलाई परास्त गर्न सक्छु भन्नेमा म दृढ भएँ । त्यसका लागि महत्वपूर्ण औषधि बन्यो मेरो आत्मबल र आत्मविश्वास, श्रीमानको साथ र माया, स्वस्थ जीवनशैली र सन्तुलित खानपान । जागिर छोडेर कम्बोडियाबाट नेपाल फर्कने बित्तिकै हामीले जग्गा किन्यौँ । भएको अलि अलि पैसा किन्दा खर्च भयो । आमाको उपचारमा पनि पैसा खर्च भइरहेको थियो । त्यतिबेला हो मैले पैसा महत्व बुझेको र मान्छेलाई चिनेको । पैसा विना मेरो उपचार सम्झव थिएन । मेरो आत्मबल र विश्वासको लागि मान्छेको साथ अत्यावश्यक थियो । शरीरभित्र क्यान्सर र काखमा दुई सन्तानको जिम्मेवारी मेरो लागि ठूलो चुनौती थियो । यो चुनौतीलाई स्वीकार गर्दै म बाँच्ने जिजिविषासहित क्यान्सरसँग लडिरहेँ । म विचल्लित थिइन् । क्यान्सर र दुई सन्तानसँगको यात्रालाई एउटा गन्तव्यमा पु¥याउनु थियो ।
...........
सबैभन्दा बिर्सन न सक्ने क्षण त किमो दिएपछिको हुन्थ्यो । किमोपछि म भुइँमा एक्लै उभिन्न सक्दिनथेँ । मलाई दुईतिरबाट दुई जनाले बोक्नु पथ्र्यो । शरीर ओछ्यानमा हुन्थ्यो । तर,उडेको अनुभव हुन्थ्यो । २८ वर्षको उमेरमा देब्रे स्तनमा देखिएको क्यान्सर १० वर्ष सुस्तायो । १० वर्षपछि अर्थात म ३८ वर्ष हुदाँ दाहिने स्तनमा फेरि गाँठो देखा पर्यो । पहिलो क्यान्सर निको भएपनि ६ /६ महिनामा स्वास्थ्य परीक्षण गर्नुपर्थो । स्वास्थ्य परीक्षण गर्ने क्रममा दोस्रो क्यान्सर पत्ता लाग्यो । दोस्रो पटक क्यान्सर देखिदाँ म पहिलोमा जस्तो आत्तिइन् । त्यसको एउटै कारण थियो, मैले पहिलो क्यान्सर त जितिसकेँ, यसलाई पनि जित्न सकि हाल्छु नि भन्ने आत्मविश्वास । दोस्रो क्यान्सर पनि मैले उपचार, आत्मविश्वास, आत्मबल र श्रीमान र छोराछोरीको मायाले सजिलै जितेँ । दोस्रो क्यान्सर पनि जित्दा त मलाई क्यान्सरलाई एस आन्सर भनेँ भन्ने अनुभूति हुन्थ्यो । तेस्रो क्यान्सरको प्रसंग केही फरक छ । तेस्रो क्यान्सर, हाड(वोन)मा देखापर्यो त्यतिबेला म ४० वर्षको थिएँ । दोस्रो क्यान्सर देखिएको २ वर्षपछि वोन क्यान्सर देखियो । स्वास्थ्य परीक्षणको बिरामीको संख्या पुर्याउन श्रीमानले मेरो नाम क्लिनिकमा लेखाइदिनु भएको रहेछ । भारतको टाटा अस्पतालबाट आउने चिकित्सकको टोलीले आठ जना बिरामीको स्वास्थ्य परीक्षण गर्ने तय भएको सन्दर्भ थियो त्यो । ७ जना बिरामीले नाम लेखाइसकेका थिए । संख्या पुर्याउन मेरो नाम लेखिएको थियो । स्वास्थ्य परीक्षणको लागि नाम लेखेको खबर दिदाँ म त एकछिन रिसाएँ पनि । केही भएको छैन किन परीक्षण गर्नुपर्यो भनेँ । म त जान्न पनि भनेँ । तर, श्रीमानले ‘पैसा तिरसकेको छ, यो परीक्षण आवश्यक छ जानैपर्छ’ भनेर दबाब दिनुभयो, त्यसपछि म गएँ । १५ दिनपछि उक्त परीक्षणको रिपोर्ट आयो । त्यो रिपोर्ट नियमित स्वास्थ्य परीक्षण गराई राखेको चिकित्सकलाई देखाएँ । उहाँले ‘परीक्षण गराएर एकदमै राम्रो गर्यौं, हाडमा डट देखिइसकेको छ , यो पहिलो स्टेज हो ।’ भन्नुभयो । त्यसपछि वोन क्यान्सरको उपचार सुरु भयो । चिकित्सकले वोन क्यान्सर हो भनेपछि मैले आफूलाई भाग्यमानी सम्झेँ । ती सबै कुरा सम्झदाँ क्यान्सरको जनचेतना जगाउन सबै क्यान्सर जितेर बाँचेको हुँ कि भन्ने लाग्छ । चौथो क्यान्सर, छालाको क्यान्सर थियो । यो तेस्रो क्यान्सर जितेको ३ वर्षपछि चौथो देखियो । यसको उपचार गर्न म श्रीमानसँग भारत गाएँ । स्तन क्यान्सर देखिएपछि स्तन काटेको ठाउँको छाला पाकेको थियो । शल्यक्रियाको बेला मेरो भित्रको हाड नै देखिएको थियो रे । शल्यक्रियापछि होश आउँदा त मेरो फिलामा ठूलो ब्याण्डेज बाँधिएको थियो । फिलाको मासु झिकेर त्यहाँ राखिएको थियो । फिलाको मासु झिक्दा मलाई लामो समयसम्म हिड्न गाह्रो भयो । पखेटा फिजाएर हिडेजस्तो हुन्थ्यो । विगत १३ वर्षदेखि म क्यान्सर फ्रि छ । शायद क्यान्सर मसँग हार मान्यो, योसँग अब सकिदैंन भनेर बस्यो ।
............
म क्यान्सरको बिरामी हुँदा मलाई हेर्न आउने जो कोही को मुखमा ‘विचरा’ भन्ने शब्द आउँथ्यो । उनीहरुको अनुहारमा यस्तो भाव झल्किन्थ्यो कि, त्यो नै मेरो र उनीहरुबीचको अन्तिम भेट हो । प्रत्येकको अनुहारमा म यो भाव पढ्थेँ । मलाई त्यो पटक्कै मन पर्दैनथियो । आफूमा क्यान्सर निको पार्छु भन्ने आत्मविश्वास हुँदाहुँदै पनि त्यस्तो भावले मलाई कमजोर बनाउन खोज्थ्यो । तर म बिचल्लित हुन्नथेँ । बिरामी हेर्न आउने भनेको ‘विचरा’ भन्न आउने होइन नि । हिम्मत दिन आउने हो । तर, अधिकांशले ‘विचरा, अब छैन, सकियो’ नै भनेर जान्थे । दोस्रो पटक क्यान्सर हुँदाको एउटा प्रसंग सुनाउँछु – दोस्रो क्यान्सरको उपचार गर्न गएको कुरा घरमा बज्यैलाई मात्रै थाहा थियो । कसैलाई पनि नभनि गएका थियौँ । त्यसको एउटै कारण ‘विचरा’ भन्ने शब्द सुन्न नपरोस् भन्ने थियो । किमोले कपाल झर्थो । त्यसैले मैले किमो दिन जानु अघि नै कपाल खौरेको थिएँ । अस्पतालबाट फर्केपछि एक दिन टाउकोमा कपडा बेरेर कौसीमा हिडिरहेको थिएँ, छिमेकीले मेरो छोरालाई ‘तिम्रो ममीले भाइ पाको कि बहिनी पाको’ भनेर सोधेछन् । छोराले छिमेकीले सोधेको प्रश्नको बेलीविस्तार लगाएपछि मैले छोराछोरी दुबै जनालाई म क्यान्सर रोगको बिरामी हुँ भनेँ । उनीहरुलाई आफ्नो रोग र अवस्थाको बारेमा बुझाएँ । त्यतिबेला उनीहरु मात्रै १० वर्षका थिए ।
वोन क्यान्सरको किमोपछि ममा धेरै साइड इफेक्ट देखियो । रिस धेरैे उठ्थ्यो । कराउँथेँ । गाली गर्थेँ । कराएपछि, गाली गरेपछि थकाइ लाग्थ्यो, त्यसपछि घरको एउटा कुनामा बसेर रुन्थेँ । त्यतिबेला श्रीमानले छोराछोरीलाई सम्झाउनु हुन्थ्यो । ‘ममी बिरामी छ, यो किमोको साइड इफेक्ट हो’ भन्नुहुन्थ्यो । ‘केही समयपछि ठिक हुन्छ ’ भन्दै सम्झाउनु हुन्थ्यो । मलाई यो रोग जित्न श्रीमानले धेरै साथ दिनुभयो । माया गर्नुभयो । छोराछोरीले मलाई बुझे । माया गरे । त्यसैले, मैले क्यान्सर जितेँ । बिरामी हुँदा श्रीमानलाई श्रीमतीको साथ, श्रीमतीलाई श्रीमानको साथ धेरै महत्वपूर्ण र आवश्यक हुन्छ, त्यसपछि छोराछोरीको । परिवारका अन्य सदस्यले गर्ने सहयोग र दिने साथ त्यसपछिको हो, यो पनि अपरिहार्य छ । हाम्रो मागी विवाह हो । उहाँले मलाई अप्ठ्रोमा पर्दा कहिल्यै साथ छोड्नु भएन । सँगसँगै हिड्नुभयो । हौसला दिनुभयो । मेरो आमा बिरामी हुँदा कम्बोडियाको जागिर छोडेर नेपाल फर्किनु भयो । मैले बच्चाहरु लिएर ममात्रै जान्छु भनेकी थिएँ, तर उहाँले परिवार भन्दा ठूलो पैसा र जागिर होइन भन्नुभयो । मेरो उपचारमा कहिल्यै पनि कम्परमाइज गर्नु भएन । ‘निको हुन्छ , निको हुन्छ , निको हुन्छ’ यो बाहेक उहाँको मन र मस्तिष्कमा अरु केही आएन । रोगको समयमा पहिचान र उपचार , मेरो आत्मविश्वास, सकारात्मक सोच, श्रीमान र छोराछोरीको साथ र माया पाएर नै मैले क्यान्सरलाई हराएँ । क्यान्सरसँग मैले जितेँ र नयाँ जीवन पाएँ । त्यसैले,यो नयाँ जीवन फरक तरीकाले बाँच्दैछु ।
..........
म त भन्छु , अहिलेका क्यान्सर बिरामी धेरै भाग्यमानी छन् । परीक्षणदेखि किमोसम्मको काम एउटै छातामुनि हुन्छ । त्यतिबेला क्यान्सर हो, होइन पत्ता लगाउन हप्तौं कुर्नुपथ्र्यो । अहिले उपचार पद्धति पनि धेरै सजिलो छ । अस्पतालमा नै मनोपरामर्शको व्यवस्था छ । ५६ वर्ष अघि (मलाई पहिलोपटक क्यान्सर हुँदा) यो शब्द उच्चारण नै गर्न हुँदैन थियो । हरिसिद्धी क्यान्सर अस्पतालमा स्वयंसेवक काउन्सिलरको काम गर्दा मैले फरक फरक अनुभव संगालेको छु । कोही एकदमै आत्तिनु हुन्छ । अब जीवन छैन सकियो भन्नेमा पुग्नु हुन्छ । चार वटा क्यान्सरलाई जितेको कुरा सुनाएपछि उहाँहरुमा आत्मबल बढेको अनुभूति हुन्छ । हात समातेर ‘के हुन्छ ?’ भन्नुहुन्छ । आत्मविश्वास बढाउनुस् , हिम्मत बढाउनुस् बाँचिन्छ भन्छु । त्यसपछि उहाँहरुको अनुहार उज्यालो हुन्छ । कतिपय अवस्थामा काउन्सिलिङको लागि अपरेशन थिएटरमा नै गएको छु । आत्तिएर, डराएर अपरेशन नै हुन नसक्ने अवस्था पनि आइपुग्छ कहिलेकाहीँ । हामी महिलाले आफूलाई पनि माया गराँै । परिवारमा छोराछोरी, श्रीमान वा अन्य सदस्य बिरामी हुनुभयो भने हामी आजै अस्पताल जाऊँ , भोलि नै अस्पताल जाऊँ भनेर तागेता गर्छौ, र आफू बिरामी पर्दा भोलि भोलि भन्दै अस्पताल जाने दिन सार्दै जान्छोँ । यो जीवन त्यसै पाएको होइन यसलाई माया गर्नुपर्छ । समयमै पत्ता लाग्यो भने क्यान्सर निको हुन्छ । हामीले नयाँ जीवन प्राप्त गर्न सक्छौं । सन्तुलित खाना, सकारात्मक सोच, व्यस्त जीवनशैली यो रोगलाई छिटो निको पार्ने थप औषधि हुन् । आफूलाई व्यस्त राख्न मैले घरमा कालिज पालेकी छु । कुखुरा पनि छन् । फूल विरुवा रोपेको छु । मनमा नकारात्मक कुरा आउने बित्तिकै घर बाहिर निस्कन्छु । छिमेकीसँग गफिन्छु । विरुवाको रेखदेख गर्छु । व्यस्त राख्न तालिम पनि लिएँ । तालिममा धेरै जना नयाँ मान्छेसँग भेट हुँदा जीवनलाई नयाँ तरीकाबाट बुझ्ने मौका पाएँ । श्रीमानले शुद्ध दुधका लागि गोदावरीबाट एउटा गाई ल्याउनु भएको थियो, एउटाबाट गाईको संख्या ७ पुग्यो । आफूलाई व्यस्त राख्न गरेका सबै काम उपयोगी नै भएँ । सकारात्मक कुरामा केन्द्रित भएँ । यी सबै काम गर्न सहयोगी भाइबहिनी हुनुहुन्छ । उहाँहरुको सहयोग लिएर बिहान बेलुकाको खाना पनि म आफैं तयार पार्छु । आफूले खाने खाना आफैंले बनाउँदा ‘कसरी पाक्यो ? ’चिन्ता गर्नै पर्दैन ।