राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

शुक्रबार, चैत २९, २०८१
मयुर प्लाई

काठमाडौं । राजवादीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले पक्राउ गरी आज काठमाडौं ल्याइ  पुर्‍याएको छ । प्रसाईलाई भारतबाट नियन्त्रणमा लिएर झापा हुँदै आज काठमाडौं ल्याइएको हो । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्‍याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उनलाई हतकडी लगाइएको थियो । विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् । उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको सुरक्षा स्रोतले जनायो । तर प्रहरीले भने प्रसाईंलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको दाबी गरेको छ । प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार