सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चिनियाँ नाकाबाट आएका सामान सोझै चोभार सुख्खा बन्दरगाहमा ल्याउने प्रक्रिया शुरु भएको छ । शुक्रबार पहिलो पटक तातोपानी नाका हुँदै चिनियाँ कन्टेनर चोभार सुख्खा बन्दरगाहमा ल्याइएको छ । यसअघि तातोपानी र रसुवामा भन्सार जाँचपास भएका सामान मात्रै सुख्खा बन्दरगाहमा ल्याइने गरेको थियो । अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को दफा ८९(च)बमोजिम चिनियाँ नाकाबाट पनि भन्सार जाँचपास नगरी सोझै चिनियाँ मालबस्तु चोभार बन्दरगाहमा ल्याउन कानुनी बाटो खोलेसँगै पहिलो पटक चिनियाँ कन्टेनर यहाँ आएका हुन् । चीनको चहच्याङ प्रान्तको इयु शहरबाट सुरु भएको नयाँ ढुवानी प्रणालीमार्फत् रेल र सडकमार्ग हुँदै नेपालमा पहिलोपटक सामान ल्याइएको हो । इयुबाट झण्डै २५ सय किलोमिटर रेलमार्फत् सामान सिगात्से ल्याइएको थियो । त्यहाँबाट पाँच सय किलोमिटर सडकमार्ग हुँदै सिन्धुपाल्चोकको तातोपानी नाका पारगरी शुक्रबार काठमाडौंस्थित चोभारको सुख्खा बन्दरगाहमा तीन कन्टेनर सामान आइपुगेका हुन् । यसअघि चीनको इयुबाट नेपालमा गाडी मात्रै आयात गरिएको थियो । पहिलोपटक इयूबाट नेपाल भित्रिएको हो । चीनका आर्थिक तथा व्यावसायिक कन्सुलर से युइले चोभार सुख्खा बन्दरगाहामा सामान आइपुगेपछि ऐतिहासिक उपलब्धि भएको बताउँदै खुसी व्यक्त गरेका छन् । ‘चीनको चहच्याङबाट नेपालको सुख्खा बन्दरगाह काठमाडौँसम्म पहिलो नन–स्टप रेलवे ढुवानीको सफल सुरुवात भएको छ । यो ऐतिहासिक क्षणले चीन र नेपालबीचको सीमापार व्यपारमा नयाँ युगको संकेत मात्र गर्दैन, चीन र नेपालबीचको आर्थिक तथा व्यापारिक सहकार्यको जग पनि बलियो बनाउँछ,’ उनले भने । अहिलेका लागि इयूबाट सातामा ३६ कन्टेनर ल्याउन सकिने भएको छ । इयूको रेलमार्गबाट सिगात्सेसम्मका लागि चीनले अहिले नेपालका लागि सातामा ३६ वटा कन्टेनर छुट्याएको छ । उक्त रेलमार्गबाट चीनका विभिन्न स्थानमा सामान ढुवानी गर्नुपर्ने भएकाले अहिलेका लागि नेपालका वस्तुहरुका लागि यति कन्टेनर व्यवस्था गरिएको हो । सामान आयातको सहजीकरण डाइरेक्ट बाइ सर्भिस प्रालिले गरेको हो । प्रालिका अध्यक्ष सुशील थापाका अनुसार यो नयाँ मार्गले सामान ढुवानी समय उल्लेख्य रूपमा घटेको छ । व्यापारीका लागि ढुवानी लागत पनि कम हुने थापाले बताए । डाइरेक्ट बाइले चीनमा स्याउ युएन शिगात्से इन्डस्ट्रियल कम्पनी लिमिटेडसँग समन्वय गरेको थियो । ‘इयुबाट समुद्रमार्ग हुँदै नेपाल आइपुग्न ४५ देखि ६० दिन लाग्छ, सडकमार्गबाट २० देखि ३० दिन लाग्छ,’ अध्यक्ष थापाले भने, ‘अब भने सिगात्सेसम्म रेल र त्यसपछि सडकमार्ग प्रयोग गर्दा सामान जम्मा एक सातामै नेपाल आइपुग्ने देखिएको छ ।’ थापाका अनुसार यो प्रणालीले व्यापारलाई सहज बनाउनुका साथै ढुवानी खर्चमा समेत कटौती गर्नेछ । थापाले व्यापारीहरूलाई नयाँ अवसरको ढोका खुल्ने र नेपालमा सामान अझ सुरक्षित रुपमा ढुवानी हुने बताए । उक्त नयाँ ढुवानी प्रणालीले नेपाली व्यापारीलाई समयमै सामान उपलब्ध गराउन सहयोग पुर्याउने र निकट भविष्यमा नेपाल–चीन व्यापार अझ सहज र छिटो हुने अपेक्षा गरिएको छ । तातोपानी र रसुवागढीमा ठाउँ र जनशक्तिको अभाव हुनेको गरेको पनि थापाले जानकारी दिए । उनले अब चोभार सुख्खा बन्दरगाहमा जाँचपासको अवस्था कस्तो छ हेर्न बाँकी रहेको बताए । यसैगरी चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको कार्यालय प्रमुख उषा पोखरेलले जाँचपास हुनका लागि भन्सार कार्यालयमा कन्टेनरहरु आएको जानकारी दिइन् । उनले गोदाममा थन्क्याएर आफ्नो अनुकुलता अनुसार जाँचपास गराउन सक्ने सुविधा भएका कारणले पनि डाइरेक्ट बाइ सर्भिस प्रालिले जाँचपासका लागि चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालय रोजेको बताइन् । उनले भनिन्, ‘यहाँ जाँचपासका लागि कन्टेनरहरु आएका छन् । यो सकरात्मक पक्ष हो । आर्थिक वर्षका लागि ८४ करोड राजश्वको लक्ष्यमा छौं । यसले थप उत्साह थपेको छ । अब कन्टेनरहरुको संख्या बढ्दै जाँदा जाँचपासका प्रक्रिया बढ्दै जाने भएकाले राजश्व पनि वृद्धि हुने आशावादी छौं । यहाँबाट जाँचपास गराउँदा गोदाममा मालबस्तु थन्क्याएर आफ्नो अनुकुलता अनुसार जाँचपास गराउन सक्ने सुविधा भएका कारणले पनि उहाँहरुलाई पनि सहज हुन्छ ।’