स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक

शनिबार, चैत ३०, २०८१
मयुर प्लाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा प्राप्त गर्ने सेवाहरुबारेको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले निःशुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायतका विवरण पनि सार्वजनिक गरेको छ । मन्त्रालयले नयाँ डिजाइन गरेको आफ्नो वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरणहरु र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि विवरणमा छ । मन्त्रालयले नागरिकलाई सरकारी स्वास्थ्य संस्थामार्फत आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको छ । यसैगरी, मृगौला रोग, मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया तथा जलन उपचार सेवाअन्र्तगत विभिन्न उमेरसमूहका बिरामीलाई विभिन्न खालका सेवा निःशुल्क दिइरहेको छ । यसका लागि सेवा प्राप्त गर्ने स्थानको जानकारीसहित कागजात चाहिने भएमा त्यससम्बन्धी विवरणसमेत राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकले प्राप्त गर्ने निःशुल्क उपचार पारदर्शी र सबैले थाहा पाउने गरी जानकारी राख्न भनेका थिए । सोही आधारमा मन्त्रालयले नयाँ डिजाइन गरिएको वेबसाइटमा विस्तृत विवरण खुलाएको हो । नागरिकले प्राप्त गर्ने उपचार सेवा सबैको पहुँच र जानकारीमा होस् भन्ने हाम्रो चाहना हो, मन्त्री पौडेलले भने,सूचनाको अभावमा कसैलाई कठिनाइ नहोस् भनेर विवरण सबैले प्राप्त गर्न सहज हुने गरी सार्वजनिक गर्ने व्यवस्था मिलाएका छौं । मन्त्री पौडेलले यसअघि संघीय अस्पताल तथा मेडिकल कलेजहरुलाई सेवा शुल्कसम्बन्धी विवरण वेबसाइट तथा अस्पतालमा सबैले देख्ने गरी राख्ने व्यवस्था मिलाउन भनेका थिए । सोही आधारमा अधिकांशजसोले यस्तो विवरण नागरिकले थाहा पाउने गरी राखेका छन् ।
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ०८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार