विपक्षी दल र राजावादीविरुद्ध प्रधानमन्त्री ओली आक्रोशित
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले विपक्षी दल र राजावादीको आलोचना गरेका छन् । एमाले कोशी प्रदेशले शनिबार दमकमा आयोजना गरेको जनसभामा उनले माओवादीसहित विपक्षी दल र राजावादीको आलोचना गरेका हुन् । ‘हामीले ६ वटा अध्यादेश ल्याएका थियौँ । त्यसमध्ये भूमिसम्बन्धी अध्यादेशलाई संसद्मा विरोधीहरूले केही बाधा गरे । त्यो बाधालाई हामीले सम्मान गर्यौँ । हामीले सहमतिका साथ अघि बढौँ भन्यौँ । तर, विपक्षी फेरि साथ दिन तयार छैनन्,’ उनले भने । सडक प्रदर्शनमा ओली राजावादी र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि पनि खनिए । ओलीले राजा फर्काउने आन्दोलन बैंकको ऋण नतिर्नेले जनता भड्काएर आफ्नो दुनो सोझ्याउन खोजेको आरोप लगाए । राजावादी आन्दोलनको हर्कत १५ चैतमा काठमाडौंको तीनकुनेमा देखिएको बताए । ‘दुई–चार सडकछाप मान्छेहरूले राजा फर्काउँछौँ भन्दा फुरुक्क परेर गाडीको हुडमाथि हात हल्लाउँदै हिँडेको पनि देखियो । तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौँ भनेका थिए । के को सभा गर्थे ! तोडफोड गर्दै, ढुंगामुढा गर्दै, घर फोड्दै, उद्योगमा आगो लगाउँदै, अरूका पसल लुट्दै हिँडे,’ उनले भने । राजा ल्याएर आफू मन्त्री बन्ने सपना देखेकाहरूले यस्तो हर्कत गरेको ओलीको भनाइ थियो । उनले अब जनता कुनै पनि हालतमा रैती बन्न तयार नभएको बताए । पछिल्लो समय देशमा अस्थिरता आएका कारण कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपरेको उनले बताए । राजनीति थाहा नै नभएकाले देश चलाउँछु भन्दै हिँडेका कारण देशमा अस्थिरता ल्याउन दुई दल मिलेको बताए । देशमा विकासको क्रम केही रोकिएकाले त्यसलाई अगाडि बढाउन दुई दल मिलेर सरकार बनाएको उनले बताए । ‘देशमा रोकिएको विकासको क्रमलाई अघि बढाउन इतिहास बोकेको कांग्रेस, एमालेजस्ता प्रमुख र इतिहासमा योगदान गरेका पार्टीहरू मिलेर सरकार बनाएका छौँ । अचानक उम्रिएर धाकधक्कु लगाएर हिँडेका पार्टी होइनन् । इतिहास बोकेका पार्टी मिलेर देशमा स्थायित्व ल्याउने अठोटका साथ अघि बढेको छ,’ उनले भने, ‘अब देशको स्थितिमा सुधार आउनेछ ।’ ओलीले नयाँ दल र नेताको पनि आलोचना गरे । ‘नयाँको हालत देखियो । नयाँ कोही बैंकमारा, कोही सहकारीमारा, कोही के छ ? अनेक प्रकारका देखिए,’ उनले भने, ‘ठुला कुरा गर्ने, हल्ला गर्ने, यथार्थ लुकाउने, कुप्रचार गर्ने जथाभावी बोल्ने, अनि देश बनाउँछु भनेर धाक लगाउने । कोही पनि अलमलमा नपर्नुहोला !’ ‘प्रतिगामी चलखेल र गणतन्त्रविरोधी हर्कतको भण्डाफोर गरौँ ! संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो जनमत सिर्जना गरौँ’ भन्ने नाराका साथ एमाले कोशी प्रदेश कमिटीले शनिबार आयोजना जनसभाको मुख्य उद्देश्य ओलीमाथि भएको विरोधको प्रतिरक्षा गर्नु थियो । पार्टी अध्यक्ष ओलीविरुद्ध पछिल्लो समय संगठित हमला भएकाले त्यसविरुद्ध एमालेले दमकमा बृहत् जनप्रदर्शन र जागरणसभा आयोजना गरेको केही दिनअघि पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताएका थिए । ‘यतिवेला देशमा प्रतिगमन, अराजकता सिर्जना गर्ने तत्व र अस्थिरता सिर्जना गर्ने तत्वले दमकलाई केन्द्रमा राखेको महसुस एमाले गरेको छ,’ उनको भनाइ थियो, ‘एमाले र देशको नेतृत्व गरेको नेतामाथि संगठित रूपमा हमला भएको छ ।’ सरकारको नेतृत्वमा रहेर यसरी सडकमा शक्ति प्रदर्शन गर्नु गलत भएको राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल बताउँछन् । ‘समय र श्रम सकारात्मक काममा लगाउनुपर्ने वेलामा यो आफ्नो बढाइ गर्न गरिएको कार्यक्रम हो । मेरा पक्षमा यति छन् भनेर देखाउन गरिएको कुरा मात्र हो । गर्नुपर्ने सकारात्मक काम छ । तर, सरकार प्रमुख यस्ता वाहियात काम गरेर हिँडिरहेका छन्,’ पोखरेलले भने, ‘यो वेला प्रधानमन्त्री सडकमा आउने होइन । जनताले रुचाउने काम गर्नुपर्ने हो । काम देखाउनुपर्ने हो । सरकारले माग पूरा नगरेर विभिन्न पेसागत संगठन र पीडित काठमाडौंमा सरकार आऊ, सहायता गर भनेर गुहार माग्दै छन् । सरकार प्रमुखचाहिँ प्रचार गर्दै जनप्रदर्शन गरेर हिँडिरहेका छन् ।’