सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । पर्सा प्रशासनले बिरगन्जमा लगाएको कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सोमबार देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ । कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दीपक पटेलले बताए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क ) बमोजिम निषेधाज्ञा जारी भएको उनले जानकारी दिए । उनका अनुसार सर्वपक्षीय बैठकले शनिवार साँझ देखि लागू गरिएको कफ्र्यु आदेश निन्तरता दिइरहनु पर्ने नदेखिएकाले केही क्षेत्र र समयका लागि छुट दिने र कफ्र्युको साटो निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । सोही अनुसार निषेधाज्ञा जारी भएको र उक्त आदेशलाई उल्लघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गरिने पर्साका प्रशासकिय अधिकृत पटेलले बताए । पुर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उतरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट सम्म निषेधाज्ञा जारी भएको पर्सा प्रशासनले जनाएको छ ।
सर्वदलीय बैठकमा पाँच बुँदे सहमति जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे सहमति गरेको छ। बैठकमा प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सहभागी थिए । बैठकमा दोषीमाथि कारवाही, घाइतेको उपचार, धार्मिक सद्भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सहमति जनाएका छन् । हनुमान जयन्तीको अवसरमा आयोजित शोभा यात्राका क्रममा उत्पन्न भएको दुई पक्षबीचको झडपलाई लिएर झडपश्चात् वीरगञ्जमा उत्पन्न तनावपूर्ण अवस्था सहमतिपछि क्रमशः सामान्य बन्दै गएको छ ।