सलमान खानलाई फेरि ज्यान मार्ने धम्की, दुई शंकास्पद युवामाथि खानतलासी

मंगलबार, वैशाख २, २०८२
मयुर प्लाई

मुम्बई । बलिउड सुपरस्टार सलमान खानलाई धम्की दिने शृङ्खला सुस्त हुने संकेत देखिएको छैन ।  अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको ह्वाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएको थियो, त्यसपछि उनलाई विभिन्न माध्यमबाट धेरै पटक धम्की आएको थियो । तर, सलमान खानलाई दिएको यो धम्की पछि प्रहरी कारबाहीमा लागेको छ, जसअनुसार यस धम्कीको पछाडीको घटनामा शंकास्पद दुई युवाको पनि खोजी गरिएको छ । रिपोर्टका अनुसार सोमबार अर्थात अप्रिल १४ मा सलमान खानलाई धम्की आएपछि उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर दुईजना संदिग्ध युवाको खोजी गरिएको थियो । दुई युवा शङ्कास्पद अवस्थामा घुमफिर गरेको फेला परेपछि मुम्बई प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । यस अवधिमा ती मानिसको रातो टोपी हटाइयो, उनको पाइन्टको खल्ती छामियो र दुबै राम्रोसँग सुरक्षा जाँचसमेत गरिएको थियो । तर, कुनै प्रमाण नभेटेपछि शंकास्पद ती युवालाई ५ मिनेटको चेकजाँच पछि जान दिइयो । 
खासमा सन् २०२४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली हानाहान भएदेखि उनको समस्या बढ्दै गएको छ । यो घटनापछि सलमान खानको सुरक्षा एकपटक फेरि बढाइएको छ । अभिनेताको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर कुनै पनि कार पार्क गर्न अनुमति दिइएको छैन । यसबाहेक कसैलाई पनि फोटो खिच्न पनि रोक लगाइएको छ । सलमान खान, शाहरुख खान र अमिताभ बच्चन यस्ता स्टार हुन् जसको घरबाहिर दर्शकको ठूलो भीड देखिन्छ तर सलमान खानलाई ज्यान मार्ने धम्की बाराम्बार आएपछि उनको सुरक्षा फेरि बढाइएको छ । उनको घरबाहिर पनि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार