खुला पुरुष भलिबलको उपाधि रामेछापको गोकुलगंगालाई, महिलातर्फ ओखलढुङ्गाको मानेभञ्ज्याङ विजयी 

मंगलबार, वैशाख २, २०८२
मयुर प्लाई

रामेछाप । उमाकुण्ड गाउँपालिकाको प्रयोजन, ३ नं. वडा कार्यालयको सहप्रायोजन तथा उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजना र ३ नं. वडा खेलकुद विकास समितिको व्यवस्थापनमा सञ्चालन भएको अन्तरपालिका खुला पुरुष तथा महिला भलिबल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।  चैत २८ गतेबाट सुरु भएको खेल ५ दिनसम्म चलेको थियो । उमाकुण्ड गाउँपालिका–३ को धोबीटार खेल मैदानमा भएको पुरुषतर्फको फाइनलमा खेलमा गोकुलगंगा गाउँपालिका रामेछापले लिखुपिके गाउँपालिका गोली सोलुखुम्बुलाई हराउँदै प्रथम भएको छ ।  पुरुषतर्फको विजेता गोकुलगंगा गाउँपालिका रामेछापले उपाधिसँगै नगद १ लाख, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिखुपिके गाउँपालिका गोली सोलुखुम्बुले नगद ७० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।  तेस्रो स्थानको लागि भएको लिखु तामाकोशी गाउँपालिका रामेछाप र खाँडादेवी गाउँपालिका रामेछाप बीच भएको प्रतिस्पर्धामा लिखु तामाकोशी गाउँपालिका रामेछापले खाँडादेवी गाउँपालिका रामेछापलाई हराएको छ । तेस्रो स्थान हासिल गर्ने लिखु तामाकोशी गाउँपालिका रामेछापले नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।  महिलातर्फ मानेभञ्ज्याङ गाउँपालिका ओखलढुंगा र दोलखाको विगु गाउँपालिका बीच भएको फाइनल खेलमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका विजेता प्रथम भएको छ । प्रतियोगितामा विगु गाउँपालिका दोलखा उपविजेता बनेको छ ।  प्रतियोगितामा आमचोक गाउँपालिका भोजपुर र रामेछापको उमाकुण्ड गाउँपालिकाबीच भएको तेस्रो स्थानको खेलमा आमचोक गाउँपालिका भोजपुरले जित हासिल गरेको छ ।   

Photo-(2)-(14)-1744690110.jpg
महिलातर्फको विजेता मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाले पनि उपाधिसँगै नगद १ लाख, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता विगु गाउँपालिका दोलखाले नगद ७० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने आमचोक गाउँपालिका भोजपुरले नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा पुरुषतर्फ लिखुपिके गाउँपालिका गोली सोलुखुम्बुका विष्णु बस्नेत उत्कृष्ट खेलाडी र रूपेश बस्नेत उत्कृष्ट सेटर घोषित भएका छन् । त्यस्तै गोकुलगंगा गाउँपालिका रामेछापका विवेक कार्की उत्कृष्ट ब्लकर, सुजन खड्का उत्कृष्ट स्पाइकर, आदित्य श्रेष्ठ उत्कृष्ट लिब्रो घोषित भएका छन् ।

Photo-(3)-(13)-1744690106.jpg
उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र बाँकी उत्कृष्ट विधाका खेलाडीहरूलाई जनही नगद ३ तीन हजार सहित ट्रफीद्वारा सम्मान गरिएको छ । प्रतियोगितामा महिलातर्फ मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाकी चन्द्रकुमारी बस्नेत उत्कृष्ट खेलाडी घोषित भइन् । विगु गाउँपालिका दोलखाकी सुस्मिता नेपाली उत्कृष्ट स्पाइकर र मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाकी मनीषा राई उत्कृष्ट सेटर, रेश्मी, राई उत्कृष्ट ब्लकर, प्रमीला आले मगर उत्कृष्ट लिब्रो घोषित भइन । उत्कृष्ट खेलाडीलाई नगद ५ पाँच हजार र बाँकी उत्कृष्ट विधाका खेलाडीहरूलाई जनही नगद ३ हजार रुपैँया सहित ट्रफीद्वारा सम्मान गरिएको छ ।  प्रतियोगितामा पुरुषतर्फ ९ टिम र महिलातर्फ ७ टिम गरी १६ टिमको सहभागिता रहेको थियो । खेलको उद्घाटन गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गरेका थिए । विजयी खेलाडीलाई वडाध्यक्ष गुणकुमार थापाले पुरस्कार वितरण गरेका थिए ।

Photo-(4)-(12)-1744690106.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार