सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरले परम्परागत शैलीका कार्नेस र पिलाष्टर संरक्षणका लागि कालिगढ उत्पादन गर्न तालिम सुरु गरेको छ । उक्त तालिममा ११ जना प्रशिक्षार्थी सहभागी भएका छन् । ह्याविटाट क्रियसनसँगको सहकार्यमा उक्त तालिम सुरु भएको हो । कार्नेस र पिलास्टर घर र दरबार प्राचीन सम्पदालाई कलात्मक र सुन्दर देखाउन प्रयोग गरिन्छ । उक्त तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यवाहक नगर प्रमुख मञ्जली शाक्य बज्राचार्यले कार्नेस र पिलास्टरले भवनलाई कलात्मक बनाउने बताउँदै यो सीप हस्तान्तरणका लागि तालिम आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘यो सीप भएका जनशक्तिको अभाव हुँदै गएको अवस्थामा सीप हस्तान्तरण गर्न आवश्यक भएकाले तालिम आयोजना गरेका हौं ।’
ललितपुर महानगर कला, संस्कृति र सम्पदाको सहर भएको बताउँदै भवनलाई कलात्मक देखाउने कार्नेस र पिलास्टर बनाउने सीप सिकाउनु अत्यावश्यक भएको बताइन् । महानगरको शहरी विकास महाशाखाका प्रमुख इन्जिनियर श्रीकुमार महर्जनले कार्नेस र पिलास्टर बनाउने सीप ध्यानपूर्वक सिक्न प्रशिक्षार्थीलाई अनुरोध गरे । उनले भने, ‘तपाईंहरुले यो सीप सिक्नुस्, यसको प्रयोग ललितपुर महानगरले अवश्य गर्छ ।’ शहरी विकास समितिका सदस्य एवं वडा नं. ४ का वडाअध्यक्ष सन्तोष खड्काले कार्नेस र पिलास्टर बनाउन जान्ने कालिगडको संख्या महानगरले संकलन गरी संरक्षण गर्ने बताए । क्रियसनकी अध्यक्ष सविना तुलाधरले दरबार र व्यक्तिगत घरमा रहेको कार्नेस र पिलास्टर संरक्षण गर्न यो तालिम आवश्यक भएको बताइन् । सिक्ने र सिकाउने कार्यक्रमको रुपमा यो तालिम आयोजना गरिएको उनले बताइन् । तालिमका मुख्य प्रशिक्षक नरेन्द्र बज्रचार्य र तुईसेकाजी बज्रचार्य रहेका छन् । उनीहरुले यो तालिम उपयोगी भएको बताए । आफ्नो सीप आउँदो पुस्तामा हस्तान्तरण गर्न पाएकोमा उनीहरुले खुशी व्यक्त गरे ।