प्रहरीका लागि प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या कम गराउने स्वास्थ्य शिविर सकियो 

शुक्रबार, वैशाख ५, २०८२
मयुर प्लाई

रामेछाप । धुलो, धुवाँ र ध्वनि प्रदूषणमा उभिएर काम गर्ने प्रहरीलाई प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या कम गराउन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले आयोजना गरेको तीन दिने शिविर सम्पन्न भएको छ ।  चिकित्सालयले तीनदिने योग तथा नस्यकर्म शिविर सञ्चालन गरेको हो । कार्यक्रमको आयुर्वेद वैकल्पिक चिकित्सालय रामेछापकी प्रमुख डा. पुनम नेपालले सहजीकरण गरेकी थिइन् ।   लामो समयसम्म ड्युटी गर्दा श्वासप्रश्वास, कान, ढाड, कम्मर र गोडामा आउने स्वास्थ्य समस्या, तनाव व्यवस्थापन, पुनर्उर्जा प्राप्ति लगायतका विषयमा सहभागीलाई सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराइएको थियो ।  डा. नेपालले आफ्नो शरीरलाई कस्तो बनाउने भन्ने धेरै कुरा आफ्नो हातमा भएकाले यसको व्यवस्थापनमा आफ्नै बढी भूमिका हुने बताइन् । ‘नियमित योग अभ्यास, खानपान र व्यवहारमा सुधार गर्दा धेरै रोग लाग्नबाट जोगिन्छ, रोग लागे पनि निको हुन्छ’, उनले भनिन् । 
शिविर समापन कार्यक्रममा बोल्दै रामेछापका प्रहरी प्रमुख डिएसपी प्रदीपकुमार सिंहले स्वास्थ्य जीवनको लागि योग अभ्यास जरुरी रहेको बताए । रातदिन ड्युटीमा खटिनु पर्ने प्रहरीको लागि त यो अझ आवश्यक रहेको उनको धारणा छ ।  ‘अरू आक्रामक हुँदा हामी शान्त हुनुपर्छ, त्यसैले हाम्रो लागि यो अति जरुरी छ, योग प्रकृतिमैत्री उपचार भएकोले पनि यसको विशेष महत्त्व छ’, उनले भने ।  शिविर समापन कार्यक्रमका बोल्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका अध्यक्ष नवराज पथिकले आयुर्वेद उपचार पद्धति हाम्रै ऋषिमुनीहरुले लामो अध्ययन अनुसन्धान गरेर पत्ता लगाएको उपचार पद्धति भएको बताए। साइड इफेक्ट कम हुने भएकोले पनि यसको थप महत्त्व रहेको उनले स्पष्ट पारे । कार्यक्रमका सहभागीले शिविरबाट निक्कै व्यवहारिक ज्ञान प्राप्त गरेको बताए । उनीहरूले सिकेको अभ्यासलाई नियमित प्रयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार