सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने घोषणा गरेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र संविधान र कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि सैहृय नहुने स्पष्ट पारेका हुन् । राप्रपाले राजतन्त्र पुनःस्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी राप्रपाका नामबाट सार्वजनिक समाचार र अभिव्यक्तिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ । यसअघि बल्खुमा चैत २६ गते राप्रपाले विरोधसभा गरेको थियो । त्यसअघि चैत १५ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन भड्किएर हिंसात्मक रुप लिएपछि त्यही दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं पार्टी महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु अनुसन्धानका लागि अहिले प्रहरी हिरासतमा छन् । आफ्ना दुई नेतासहित चैत १५ को तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई बिना शर्त रिहा गर्न राप्रपाले माग गर्दै आएको छ । राप्रपाले वैशाख ७ गते (आइतबार) सरकारद्वारा निषेधित क्षेत्र घोषित ठाउँमा प्रदर्शन गर्ने घोषणापछि शनिबार गृह प्रवक्ता तिवारीले संविधान र कानुन उल्लंघन हुने गरी गतिविधि नगर्न चेतावनी दिएका हुन् । गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सहृय नहुने र यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सुचित गरिन्छ । साथै समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ ।’