शिक्षालाई श्रम र उत्पादनसँग जोडने प्रयत्नमा डहु मावि 

आइतबार, वैशाख ७, २०८२
मयुर प्लाई

रामेछाप । रामेछापको नमुना विद्यालयको रूपमा रहेको डहु मावि वेथानले विद्यार्थीलाई कृषि कर्म सिकाउन कृषि क्षेत्रमा पनि हात हालेको छ ।  कृषिलाई आधुनिकीकरण गर्दै जाने उद्देश्यले पहिलो चरणमा परीक्षणको कार्य सुरु गरेको विद्यालयका प्रधानाध्यापक दलबहादुर बलले जानकारी दिए । ‘परीक्षणका लागि ११ वटा बङ्गुर, करिब चार सयवटा गिरिराज कुखुरा हालेका छौँ, २७ वटा भन्दाबढी बोधीचित्त रोपेको छौँ, करिब तीन रोपनी जग्गामा अग्र्यानिक तरकारी खेती सुरु गरेका छौँ’, उनले भने ।  शिक्षालाई श्रम र उत्पादनसँग जोडने प्रयत्न स्वरूप सो काम थालिएको उनले बताए । अब  छिट्टै चार रोपनी जति जग्गा लिजमा लिएर कृषि क्षेत्र विस्तार गरिने उनले जानकारी दिए । ‘व्यवस्थापनको पक्षमा थप आधुनिकीकरण गरी कृषि अध्ययन केन्द्रको रूपमा डहु माविको परिचय दिने कार्ययोजनामा छौँ’, उनले भने । 
डहु मावि रामेछाप जिल्लाको मात्र होइन देशकै नमुना सामुदायिक विद्यालयको रूपमा विकास हुँदै गएको छ । रामेछापको दुर्गम गाउँमा सञ्चालन भएको सो विद्यालय विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रमा चासो राख्नेको लागि आकर्षणको केन्द्र बनेको छ ।  आवासीय रूपमा कक्षा सञ्चालन गरेको सो विद्यालयमा करिब ५ सय विद्यार्थी अध्ययन गर्दछन् । १६ वटा भन्दा बढी जिल्लाका विद्यार्थीले विद्यालयको आवासमा बसेर अध्ययन गरिरहेका प्रधानाध्यापक बलले बताए ।  रामेछापको सदरमुकाम मन्थली, काठमाडौं, ललितपुर र भक्तपुरबाट समेत धेरै सङ्ख्यामा सो विद्यालयमा पढ्नको लागि विद्यार्थीहरू गएका छन् । बोर्डिङ स्कुलमा पढ्दै गरेका विद्यार्थीलाई समेत त्यहाँबाट छुटाएर अभिभावकहरूले पढाउनको लागि डहु माविमा पुर्‍याउने गरेका छन् ।  विद्यालय तहको पढाइको मापन गर्ने अन्तिम परीक्षा एसइई परीक्षामा डहु माविले उत्कृष्ट नतिजा ल्याउने गरेको छ । सो विद्यालयका विद्यार्थीले एसइई परीक्षामा पटक पटक चार जिपिएसम्म प्राप्त गरेका छन् । अधिकांश विद्यार्थीहरू तीन जिपिएभन्दा माथिको ग्रेड ल्याएर उत्तीर्ण हुने गरेका छन् । यसले गर्दा पनि सो विद्यालय प्रति विद्यार्थी र अभिभावकको चासो बढेको छ । 
सो विद्यालयमा सञ्चालन भएको शैक्षिक गतिविधिको अध्ययन अवलोकन गर्न दैनिक जसो देशका विभिन्न भागबाट शिक्षक, विद्यार्थी, जनप्रतिनिधिका साथै शिक्षा क्षेत्रमा चासो राख्ने सरोकारवालाहरू आउने गर्दछन् । 
शिक्षक महासंघको काठमडौं केन्द्रित आन्दोलनको कारण अहिले भने सो विद्यालय पनि प्रभावित भएको छ । शिक्षक आन्दोलनको कारण यस शैक्षिकसत्रमा विद्यालय सञ्चालनमा आएको छैन ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार