खराब कर्जाको चक्रव्यूहमा बैंकहरुः एनपीएलको ५ प्रतिशतको सीमा पार

साढे ३६ अर्ब प्रोभिजनिङको भार
आइतबार, वैशाख ७, २०८२
मयुर प्लाई

काठमाडौं । बजारमा देखिएको आर्थिक शिथिलताको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थामा देखिएको छ । मन्दीका कारण समयमा लगानी नउठ्दा बैंकहरुको खराब कर्जा झन् बढ्दै गएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुको खराब कर्जा ३२.०५ प्रतिशतले बढेको छ । बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्म बैंकहरुको खराब कर्जा औषतमा १.१७ प्रतिशतले बढेको हो ।  चैत मसान्तसम्म आइपुग्दा १८ वटा बैंकहरुको खराब कर्जा बढेको छ भने दुई बैंकको खराब कर्जा घटेको छ । यस अवधिमा हिमालयन बैंकको खराब कर्जा सर्वाधिक बढेको छ ।
गत वर्षको सोही अवधिमा ४.९६ प्रतिशत रहेको हिमालयन बैंकको खराब कर्जा २.७२ प्रतिशतले बढेर ७.६८ प्रतिशत पुगेको छ । त्यस्तै यस अवधिमा प्राइम कमर्सियल, हिमालयन, प्रभु, लक्ष्मी सनराइज, ग्लोब आईएमई, राष्ट्रिय वाणिज्य, नेपाल बैंक, सिटिजन इन्टरनेशनल, सिद्धार्थ, एनएमबि, नेपाल एसबिआई र कृषि विकास बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा माथि रहेको छ ।
चैत मसान्तसम्म आइपुग्दा एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने खराब कर्जा घटाएका छन् । 

नाफामा असर 

बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्दा त्यसको प्रभाव बैंकहरुको वित्तीय रिपोर्ट (ब्यालेन्स सिट) मा परेको छ । आर्थिक वर्ष २०८१ ८२ को वित्तीय रिपोर्ट अनुसार यस अवधिमा बैंकहरुले ४१ अर्ब बढी नाफा कमाएका छन् । 
तर, सञ्चालनमा रहेका २० बैंकहरुमध्ये आधा बैंकहरुको नाफा भने घटेको छ । बैंकहरुको खराब कर्जा बढ्दा नाफाको अधिक प्रतिशत वित्तीय व्यवस्थापन (प्रोभिजन) मा जाँदा नाफा घट्न पुगेको हो । 

नाफा घटेका नौं बैंक

प्रकाशित वित्तीय विवरण अनुसार चालु आवको चैत मसान्तसम्म आई पुग्दा नौं बैंकहरुको नाफामा गिरावट देखिएको छ । जसमा एनआईसी एशिया बैंकको नाफा सबैभन्दा बढी ९१.८१ प्रतिशतले घटेको छ । 
त्यसैगरी कुमारी बैंकको नाफा ७२.८५ प्रतिशतले घटेको छ । हिमालयन बैंकको ७४.३३ प्रतिशत, सिटिजन बैंकको २०.६० प्रतिशत, कृषि विकास बैंकको १०.१७ प्रतिशत, राष्ट्रिष्य वाणिज्य बैंकको ४९.२९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको ११.२७  प्रतिशत, प्राइमको २२.५६ प्रतिशत र सिद्धार्थ बैंकको नाफा ०.९४ प्रतिशतले घटेको छ ।

कर्जा नोक्सानी व्यवस्था गर्न छुट्याए साढे ३६ अर्ब 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले कर्जा तथा नोक्सानी व्यवस्था गर्न ३६ अर्ब ५७ करोड ११ लाख रुपैयाँ छुट्याएका छन् । उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ८.०६ प्रतिशतले कम हो । बैंकहरुले गत वर्ष ३९ अर्ब ७७ करोड ६२ लाख रुपैयाँ कर्जा नोक्सानीका लागि व्यवस्था गरेका थिए ।
यस अवधिमा सबैभन्दा बढी कर्जा नोक्सानीका लागि रकमको व्यवस्था गर्नेमा कुमारी बैंक रहेको छ । बैंकले चैतसम्ममा ५ अर्ब १६ करोड  ७१ लाख रुपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याएको छ । जुन रकम गत वर्षको तुलनामा ४५.८१ प्रतिशतले बढी हो । गत वर्ष बैंकले तीन अर्ब ५४ करोड ३६ लाख रुपैयाँ प्रोभिजन गरेको थियो । गत वर्ष ४.९५ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ६.९८ प्रतिशत पुगेको छ । 
त्यसैगरी धेरै नोक्सानी व्यवस्था गर्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ । बैंकले चैतसम्ममा ३ अर्ब १९ करोड रुपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याएको छ । जुन गत वर्षको तुलनामा २०.०७ प्रतिशत कम हो । गत वर्ष बैंकको यस्तो रकम ४ अर्ब रुपैयाँ थियो । चैत मसान्तसम्म २ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकको निष्कृय कर्जा अनुपात ५.४९ प्रतिशतबाट बढेर ५.८६ प्रतिशत पुगेको छ ।
त्यस्तै नोक्सानी व्यवस्थाका लागि सबैभन्दा कम रकम छुट्याउनेमा एभरेष्ट बैंक रहेको छ । बैंकले खराब कर्जा घटाएसँगै प्रोभिजन रकम पनि घटाएको हो । गत वर्ष ०.७० प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ०.६४ प्रतिशतमा झरेको छ भने एभरेष्टको प्रोभिजन रकम २७ करोड २९ लाख रुपैयाँ रहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार