दैनिक व्यापार घाटा ४ अर्ब १५ करोड

सोमबार, वैशाख ८, २०८२
मयुर प्लाई

काठमाडौँ । निर्यात व्यापारमा सुधार देखिए पनि मुलुकको दैनिक व्यापार घाटा ४ अर्ब १५ करोड पुगेको छ । स्वदेशमै पर्याप्त उत्पादन गर्न सकिने वस्तुको समेत आयात बढ्दा व्यापार घाटा चुलिएको सरोकारवाला बताउँछन् । 
भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । यसअनुसार मासिक व्यापार घाटा १ खर्ब २४ अर्ब ५९ करोड छ । अर्थात् दिनको घाटा ४ अर्ब १५ करोड छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६।४५ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको पहिलो ९ महिनामा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ थियो । दैनिक घाटा ३ अर्ब ९० करोड थियो । अहिले व्यापार घाटा धेरैले बढेको हो । यसको मुख्य कारण स्वदेशमै उत्पादन हुन सक्ने वस्तुमा पनि परनिर्भरता बढ्नु रहेको जानकारको भनाइ छ । ‘मुख्य बाली धान–मकै आयातमै अर्बौं रुपैयाँ खर्च भएको छ । तेलहन र फलफूलको अवस्था पनि उस्तै छ,’ पूर्ववाणिज्य सहसचिव रवि सैंजूले भने, ‘कतिपय वस्तु आयात नभई हुँदैन, त्यसैले घाटा तत्काल कम गर्न सकिँदैन । तर स्वदेशी मागले धान्न सक्ने गरी कृषि उत्पादन बढाउन सके आयात–निर्यातको खाडल घटाउन सकिन्छ ।’
चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोडको वस्तु आयात भएको थियो । ९ महिनामा आयात व्यापार १२.१८ प्रतिशतले बढेको हो ।
यस अवधिमा सोयाबिन तेल (कच्चा) आयात अस्वाभाविक बढेर पेट्रोललाई समेत उछिनेको छ । ९ महिनामा ६६ अर्ब ४ करोडको सोयाबिन तेल (कच्चा) आयात भएर आयात हुने वस्तुमध्ये दोस्रो नम्बरमा परेको छ । यस अवधिमा २२ अर्ब ६४ करोडको सनफ्लावर तेल (कच्चा) आयात भएको छ । निर्यातमा भन्सार छुट र निर्यात गर्दा अग्रिम भुक्तानी सुविधाले आयात अत्यधिक बढेको छ । उद्योगी व्यापारीले तेस्रो मुलुकबाट आयात गरी केही मात्रामा रिफाइन गरेर निर्यात गरेका छन् ।
प्रमुख बालीका रूपमा रहेको १८ अर्ब ५ करोडको धान र १३ अर्ब ७८ करोडको चामल आयात भएको छ । यसमध्ये ५ अर्ब ७८ करोडको बासमती चामल आयात भएको छ । १३ अर्ब ७३ करोडको मकै, ७ अर्ब ३४ करोडको स्याउ, ६ अर्ब ४५ करोडको लसुन र ६ अर्ब २ करोडको आलु आयात भएको छ । ‘स्वदेशमै यी वस्तुको उत्पादन सम्भव छ । सिँचाइ, मलबीउलगायात सुविधा दिएर लागत कम गरेर यिनको उत्पादन बढाउन पनि सकिन्छ,’ सैंजूले भने ।
स्वदेशी वस्तुको उत्पादन र निर्यात बढाउन सरकारले तुलनात्मक लाभका वस्तुसमेत पहिचान गरेको छ । निर्यात बढाउन नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) लाई पटक–पटक संशोधन गर्दै आएको छ । निर्यातमा केही सुधार देखिए पनि यो पर्याप्त नभएको जानकार बताउँछन् । ‘पहिलो कुरा अर्थतन्त्र चलायमान बनाउनुपर्छ, त्यसका लागि पुँजीगत खर्च बढाउनुपर्छ । उद्योग राम्रोसँग चले निर्यात बढाउन सकिन्छ, व्यापार घाटा पनि काम गर्न सकिन्छ,’ सैंजूले भने ।
आयात भएका वस्तुमध्ये पहिलो नम्बरमा भने डिजेल छ । ९ महिनामा ९१ अर्ब २६ करोडको डिजेल आयात भएको छ । ६३ अर्ब ७३ करोडको स्टिल तथा आइरन, ४७ अर्ब ७७ करोडको पेट्रोल, २५ अर्ब ३८ करोडको स्मार्टफोन, १७ अर्ब १२ करोडको सुनलगायत आयात भएको छ ।
९ महिनामा निर्यात व्यापार ६५.१६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म १ खर्ब ८८ अर्ब १९ करोडको वस्तु निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
निर्यात भएका वस्तुमध्ये पहिलो नम्बरमा खानेतेल नै छ । ९ महिनामा ६२ अर्ब ७८ करोडको सोयाबिन तेल, ९ अर्ब २३ करोडको सनफ्लावर तेल, ८ अर्ब ९ करोडको कार्पेट, ६ अर्ब २६ करोडको अलैंचीलगायत वस्तुको निर्यात भएको छ ।
नेपालले १ सय ६३ मुलुक बढीसँग द्विपक्षीय व्यापार गर्छ । सबैभन्दा धेरै व्यापार र घाटा भारतसँग छ । ९ महिनामा भारतसँग मात्रै ६ खर्ब ३५ अर्ब ७६ करोड घाटा छ । दोस्रोमा चीनसँग २ खर्ब ४५ अर्ब ६५ करोड घाटा रहेको विभागको तथ्यांक छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०७:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार