सोसल मिडिया
Contact Us
युनिकोड
कोलकाता । कप्तान शुभमन गिल लयमा फर्किँदा गुजरात टाइटन्स आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ । कप्तान गिलको प्रभावशाली इनिङ्सको बलमा गुजरात टाइटन्सले आईपीएल क्रिकेटमा सोमबार कोलकाता नाइट राइडर्समाथि ३९ रनको जित निकाल्न सफल भएको छ । यो जितसँगै गुजरातले शीर्षस्थानलाई थप बलियो बनाएको छ । ८ खेलमा गुजरातको यो छैटौं जित हो । गिलले ५५ बलमा ९० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको गुजरातले इडेन गार्डेन रंगशालामा निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ९८ रन बनाएको थियो । प्लेयर अफ द म्याच गिलले १० चौका र ३ छक्का प्रहार गरे । उनले ओपनिङ जोडी साइ सुदर्शनसँग १३ ओभरभित्र १ सय १४ रन जोडेका थिए । प्रतियोगिताका सर्वाधिक रनकर्ता सुदर्शनले ३६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरी ५२ रन बनाए । जोस बटलरले २३ बल खेलेर ९ चौकासहित ४१ रनमा अविजित रहे । शाहरूख खानले ५ बलमा अविजित ११ रन बनाए । कोलकाताका वैभव अरोरा, हर्षित राना र एन्ड्रे रसेलले १–१ विकेट लिएका थिए । अजिन्क्या रहानेले ५० रन बनाए पनि कोलकाताले ८ विकेट गुमाई १ सय ५९ रनमात्र बनाउन सक्यो । क्विन्टन डी ककको स्थानमा ल्याइएका रहमनुल्लाह गुरबाजले १ रनमात्र बनाउन सके । सुनिल नारिनले १७, वैंकटेश ऐरले १४, रिंकु सिंह १७ र रसेलले २१ रन बनाए । कप्तान रहानेले ३६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । अंगकृष रघुवंशीले १३ बल खेल्दै ३ चौका र १ छक्कासहित २७ रनमा अविजित रहे । गुजरातका लागि सर्वाधिक विकेटकर्ता प्रसिद्ध कृष्ण र रशिद खानले २–२ विकेट लिए । दुवैले ४ ओभरमा समान २५ रन खर्चेका थिए । मोहम्मद सिराज, इशान्त शर्मा, वासिङ्टन सुन्दर र साइ किशोरले १–१ विकेट लिए । कोलकाताको ८ खेलमा यो पाँचौं हार हो ।