सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । आफ्नो जमानाका चमात्कारिक फुटबलर रोबर्टो कार्लोस मंगलबार नेपाल आउँदै छन् । अहिले चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को मौका छोपेर उनी नेपाल आउन लागेका हुन् । काठमाडौं बसाइका क्रममा उनले नेपाली समर्थकलाई भेट्ने छन् भने दशरथ रंगशालामा हुने एनएसएलको क्वालिफायर–टु पनि हेर्नेछन् । सन् २०१६ तिर व्यावसायिक फुटबल खेल्न छाडे पनि उनको चर्चा अहिलेसम्म पनि अटुट छ, किनभने उनलाई विश्व फुटबल इतिहासकै सर्वकालीन महान खेलाडीमध्ये एक मानिन्छ । विश्व फुटबलमा अगाडि खेलेर गोल गर्नेको बढी चर्चा हुने गर्छ । तर कार्लोस त्यस्ता खेलाडी पनि होइनन् । उनी त रक्षापंक्तिका खलाडी हुन् । उनको खेल विशेषता भनेकै रक्षात्मक खेलाडी रहेर पनि अत्यधिक आक्रामक रहनु हो । उनी शक्तिशाली प्रहारका लागि माहिर छन् । फ्रिकिकमा अचुक निसाना लगाउनु उनको विशेषता थियो । उनले तीन विश्वकप खेले । त्यसमध्ये सन् १९९८ मा ब्राजिल फाइनल पुगेको थियो र उपविजेतामै सीमित रह्यो । सन् २००२ मा एसियामा भएको पहिलो विश्वकपमा भने उनीसम्मिलित ब्राजिल च्याम्पियन भएको थियो । उनलाई बढी चिनिने भनेको रियल म्याड्रिड खेलाडीका रूपमा हो, जहाँ उनले १२ वर्षजति बिताए । उनले अर्को युरोपेली क्लब इन्टर मिलानबाट पनि खेले । ब्राजिली राष्ट्रिय टोलीका लागि १ सय २५ पल्ट खेलेर १० गोल गरेका छन् । त्यसमध्ये एक गोलका लागि भने उनलाई सधैं सम्झिने गरिन्छ । अझ विश्व फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट, अविश्वसनीय र कहिले पनि चर्चाबाट टाढा नहुने गोलका लागि कार्लोस प्रसिद्ध छन् । यसका लागि सन् १९९७ फर्किनुपर्छ, जतिबेला फ्रान्समा हुन लागेको विश्वकपका लागि तयारी चलिरहेको थियो । त्यसै क्रममा फ्रान्स र ब्राजिलबीच एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भएको थियो । त्यो खेल १–१ को बराबरीमा टुंगिएको थियो र त्यसमै उनले अहिलेसम्मकै रहस्यमय गोल गरेका थिए । खेलले २१ मिनेट छुँदा उनले ३० यार्ड जतिको दूरीबाट फ्रिकिक प्रहार गरेका थिए । त्यति बेला फ्रान्सेली गोलरक्षक थिए, फाबियन बार्थेज । कार्लोसको शक्तिशाली बायाँ खुट्टाको मदतमा गरिएको प्रहार सुरुमा आफ्नो गन्तव्यबाट टाढा दायाँतर्फ जाने देखिएको थियो । तर एकाएक त्यसले आफ्नो बाटो फेर्यो र बायाँ लाग्यो । बलले अन्ततः पोस्टको जाली चुम्यो र प्रतिद्वन्द्वी गोलरक्षक बार्थेज आफ्नो ठाउँबाट फिटिक्क पनि चलेनन् । यही गोललाई लिएर कार्लोससँग सोधिँदा उनको प्रायः उत्तर हुने गर्छ, यो ‘चमत्कारी गोल’ हो ।